चितवनको फिस्लिङमा सम्पन्न नवौँ राष्ट्रिय राफ्टिङ तथा १४औं राष्ट्रिय क्यानोनिङ प्रतियोगितामा नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ ले समग्रमा प्रथम स्थान हासिल गरेको छ ।

मंगलवार प्रतिस्पर्धाको अन्तिम दिन राफ्टिङका तीनवटै मुख्य विधामा उत्कृष्ट प्रदर्शन गर्दै फिस्लिङ ‘ए’ ले कुल ९७२ अङ्क जोडेर उपाधि जितेको हो । सहभागी कुल १२ क्लबलाई पछि पार्ने क्रममा फिस्लिङ ‘ए’ ले स्लालममा ३००, हेड–टु–हेडमा ३५० र डाउन रिभर रेसमा ३२२ अङ्क प्राप्त ग¥यो ।

प्रतियोगितामा ८९९ अङ्कसहित प्याडल नेपाल ‘बी’ दोस्रो र ८५१.५ अङ्कसहित राफ्टिङ एड्भेन्चर नेपाल तेस्रो भए । त्यस्तै, भोटेकोशी एड्भेन्चर क्लबका ‘ए’ र ‘सी’ टोली क्रमशः चौथो र पाँचौँ स्थानमा सीमित रहे ।

प्रतियोगिताको कायक स्लालोम विधामा विजय माझी च्याम्पियन बनेका छन् । माझीले निर्धारित दूरी १२४.५१ स्कोरका साथ पूरा गर्दै शीर्ष स्थान हासिल गरे । सोही विधामा आशिष रानामगर १२६.९२ स्कोरसहित दोस्रो स्थानमा रहे । रन्जन कंडेल, रविन्द्र चेपाङ र रुबिन तामांगले क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थान सुरक्षित गरे ।

राफ्टिङतर्फ प्रथम हुने टोलीले ६५ हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गरे । कायक स्लालोमतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ हात पारे ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा आयोजित उक्त प्रतियोगिताका विजयी खेलाडीहरूलाई परिषद्का सदस्य–सचिव तथा प्रमुख अतिथि दिपक लामा, नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ तथा एसियन राफ्टिंग एसोसिएसनका अध्यक्ष सौगत पाल सिकंदले पुरस्कार तथा मेडल वितरण गर्नुभयो । समापन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले क्यानोइङ स्लालोम विधामा उत्कृष्ट ५ भित्र पर्न सफल खेलाडीहरूलाई जापानमा आयोजना हुने एसियाली खेलकुदको पहिलो चरणको छनोट प्रक्रियामा सहभागी गराइने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *