विभागीय टोली नेपाल पुलिस क्लब जावलाखेलसँग पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न राष्ट्रिय लिग अन्तर्गतको खेलमा जावलाखेल युथ क्लब ले पुलिसलाई ३–० ले हराएको हो । जारी लिगमा जावलाखेलको यो तेस्रो जित हो ।

यो जितसँगै ६ खेल खेलेको जावलाखेलले ९ अंक जोडेर तालिकाको आठौं स्थानमा उक्लिएको छ । पुलिसको भने यो चौथो हार हो। समान खेलबाट पुलिसको ४ अंक छ ।

खेलको १८औं मिनेटमा निकोलस ओडाने ह्यामिल्टनको गोलमा जावलाखेलले अग्रता लिएको थियो । त्यसको आठ मिनेटपछि युवराज ढकालले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए ।

७४औं मिनेटमा जावलाखेलका अनिल रानामगरले पुलिसका धीरेन्द्रबहादुर शाहलाई पेनाल्टी बक्सभित्र लडाएपछि पुलिसले पेनाल्टी पाएको थियो । तर, उक्त अवसरको सदुपयोग गर्न सकेन। पुलिसका कप्तान भारत शाहले प्रहार गरेको पेनाल्टी क्रसबार हुँदै बाहिरिएको थियो ।

७८औं मिनेटमा विकास दर्लामी मगरले उत्कृष्ट गोल गर्दै जावलाखेललाई ३–० को जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *