काठमाडौं । पिकलबल एसोसियसन नेपालको आयोजना तथा अरुण चौधरी फाउण्डेसन र सपोर्ट नेपाल यूकेको सहयोगमा नेपाल–ब्रीटेन फ्रेण्डली पिकलबल टुर्नामेन्ट शुक्रबार काठमाडौंको हात्तिगौडास्थित इम्पेरियल वर्ल्ड स्कुलमा सम्पन्न भएको छ ।

प्रतियोगितामा नेपाल र बेलायतका गरी कुल ५० जना खेलाडीले पुरुष डबल्स र महिला डबल्स विधामा प्रतिस्पर्धा गरेका थिए ।

५० वर्षभन्दा माथिका उमेर समूहका खेलाडीबीच भएको प्रतिस्पर्धा विशेष रोचक बनेको थियो । पुरुषतर्फ सबै पदक नेपालले हात पारेको छ भने महिलातर्फ बेलायती खेलाडीले वर्चस्व जमाए। समग्रमा नेपाल र यूकेले बराबरी पदक जित्दै प्रतियोगिता सन्तुलित बनेको छ ।

पुरुष डबल्सतर्फ नेपालका दीपेन्द्र बज्राचार्य र मनोज कुमारको जोडीले स्वर्ण पदक जिते । हर्षसागर तुलाधर र मणिक रत्न शाक्य को जोडीले रजत पदक जित्दा जोहन माकजु र लक्ष्मण थापाकोले कास्य पदक हात पारे ।

महिला डबल्सतर्फ कार्यन डुगान  र क्लाइरीले स्वर्ण पदक जिते भने जेनी र सुइ आन्ड्रेउले रजत पदक जिते । स्टेप ग्रेस र पाम सिमसनको जोडीले कास्य पदक जित्न सफल भयो ।

प्रतिष्ठित व्यवसायी अरुण चौधरीको प्रमुख आतिथ्यतामा खेलाडीहरूलाई पदक वितरण गरिएको थियो । प्रमुख अतिथि चौधरीले पिकलबल खेलबाट आफू निकै प्रभावित भएको बताउँदै छिट्टै स्वयं पनि खेल सुरु गर्ने घोषणा गरे । आगामी प्रतियोगितामा सहभागी हुने प्रतिबद्धता जनाउँदै उनले खेलाडीहरूलाई उत्साह प्रदान गरे ।

टुर्नामेन्टबारे जानकारी दिँदै पिकलबल एसोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले खेल पर्यटनमा ठूलो सम्भावना बोकेको पिकलबललाई नेपालमा तीव्र रूपमा विस्तार गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । आगामी दिनमा यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्दै खेलको विस्तारलाई थप गति दिने योजना रहेको उनले बताए । देशभर पिकलबल पूर्वाधार निर्माण भइरहेको उल्लेख गर्दै उनले केही वर्षभित्र पिकलबल नेपालकै सबैभन्दा रुचाइएको खेलमध्ये एक बन्ने विश्वास व्यक्त गरे ।

केही वर्षअघि बेलायतमा बस्ने समाजसेवी नवीन गुरुङले नेपालमा पिकलबल भित्र्याएका थिए । हाल पिकलबल एसोसियसन नेपालले यसको प्रवर्द्धन गर्दै आएको छ । संसारभर तीव्र रूपमा फैलिएको पिकलबल खेल नेपालमा पनि द्रुत गतिमा लोकप्रिय बन्दै गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *