सुनसरी । नाइजेरियन टोली जस्ट जोन एफसीले ११औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा चात्या सा एफसी, दमक, झापालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै जस्ट जोनले उपाधि उचालेको हो ।
विजेता जस्ट जोनले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको चात्या साले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।
जस्ट जोनलाई जित दिलाउन डेबिड ताए र ओवोलवी अफिजले समान दुई दुई तथा अडेसिना फेमीले एक गोल गरे ।फाइनल खेलको म्यान अफ दि म्याच दुई गोलकर्ता ओवोलबी अफिज घोषित भए । उनले पाँच हजार नगद पुरस्कार पाए ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर जस्ट जोनका सिट्टु ओलामिलेकन, उत्कृष्ट डिफेन्डर जस्ट जोन कै अडिगुन पिटर, उत्कृष्ट मिडफिल्डर चात्या साका असिम राई, उत्कृष्ट फरवार्ड चात्या सा कै राजेश दाहाल, सर्वाधिक गोलकर्ता जस्ट जोनका ओलाओए डेविड ताए, उत्कृष्ट प्रशिक्षक जस्ट जोन कै अडेमोला र उदयीमान खेलाडी आयोजक गोल्डेन स्टारका निशान्त चौधरी घोषित भए ।
गोल्डेन स्टार युथ क्लबको आयोजनामा भएको प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता गत फागुन ३ गतेदेखि सुरु भएको थियो ।
