केराबारी (मोरङ) । आयोजक केराबारी फुटबल क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कपमा फाइनलमा प्रवेश गरेको छ ।
केराबारी-८ स्थित केराबारी रङ्गशालामा सोमबार भएको दोस्रो सेमिफाइनलमा खेलमा डाँडाबजार फुटबल क्लब, धनकुटालाई ३–० गोल अन्तरले पराजित गर्दै केराबारी उपाधि नजिक पुगेको हो ।
केराबारीलाई फाइनलमा पुर्याउने क्रममा खेलको १२औं मिनेटमा नेपु तामाङले खेलमा अग्रता दिलाएका थिए । यस्तै खेलको ३४औं मिनेटमा भुवन बस्नेतले गोल गर्दै खेलमा अग्रता दोब्बर पारे ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको केराबारीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको ७१औं मिनेटमा रोशन राईले गोल गर्दै खेलमा केराबारीलाई ३-० को स्पष्ट जित दिलाए ।
खेलको ‘म्यान अफ द म्याच’ पनि केराबारी कै नेपु तामाङ बने । उनले रु ५ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
केराबारीले अब फागुन ६ गते हुने फाइनलमा झापा-११, झापासँग उपाधिका लागि भिड्नेछ । प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका, मोरङ (कोशी प्रदेश) रहेको छ भने आयोजक केराबारी फुटबल क्लब, मोरङ हो ।
माघ २८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ८ टोलीको सहभागीता रहेको थियो । प्रतियोगिताको विजेताले रु ४ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले रु २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।
