काठमाडौं । ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार स्वर्ण जितेका छन् ।
जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर महिला ४९-५३ केजीको फाइनलमा खुशीले भक्तपुरकी सविना तामाङलाई पराजित गरिन् ।
सिनियर महिला ५३-५७ केजीमा प्रतिभाले काठमाडौंकी अनुरा श्रेष्ठ तथा ५७-६१ केजीमा सोयाले काभ्रेकी एलिना बन्मालीलाई फाइनलमा हराए । थलीस्थित आयोजक कागेश्वरी मनोहरा नगरपालिको हातामा भइरहेको प्रतियोगिताको जुनियर पुरुष ४१-४४ केजीमा काठमाडौंका राहुल हाङ लिम्बू र महिला ३१-३४ केजीमा काठमाडौंकी सुप्रिया जोशीले स्वर्ण जिते ।
फाइनलमा राहुलले काठमाडौंका ललितबहादुर राणा तथा सुप्रियाले काठमाडौंकै रोनिशा गौतमलाई पाखा लगाए । जुनियर पुरुष ४४-४७ केजीमा नुवाकोटका सुदिप तामाङले काठमाडौंका रिडम बिसी तथा जुनियर महिला ३४-३७ केजीमा काठमाडौंकी जोबियानी तामाङले काठमाडौंकै साइना तामाङलाई पन्छ्याउदै पहिलो भए ।
प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २ सय २७ खेलाडी सहभागी छन् । सिनियर-जुनियर पुरुषमा समान ५-५ तथा सिनियर-जुनियर महिलामा समान ५-५ गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । लिगको यो दोश्रो संस्करणको पहिलो प्रतियोगिता हो भने समग्रमा पाँचौं प्रतियोगिता हो ।
यसअघि लिगको पहिलो संस्करणमा ४ प्रतियोगिता भएका थिए । लिगको हरेक संस्करणमा एक वर्षको अवधिमा ३ महिनाको अन्तरालमा एउटा प्रतियोगिता हुने गरेको छ । त्यसअन्तर्गत दोश्रो संस्करणमा पनि चार प्रतियोगिता हुनेछ।
लिगमा हरेक तौलसमूहमा पहिलो हुनेलाई १०, दोश्रोलाई ७ र तेश्रोलाई ३ अंक प्रदान गरिने छ । चार वटा लिग सम्पन्न भएपछि खेलाडीको प्रदर्शनका आधारमा एक उत्कृष्ट पुरुषः महिला खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ ।
यो लिगको हरेक स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्ने उपत्यका बाहिराका खेलाडीलाई आगामी लिगमा खाना, बसोवास र यातायातको सुविधा पनि दिइने छ । मोटरसाइकल पुरस्कार र खेलाडीको सुविधाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गर्ने छ ।
प्रदर्शनलाई नै मध्यनजर गरी दोश्रो संस्करणको चौथो लिगको समाप्तिमा हरेक तौलसमूहमा शीर्ष तीन स्थानमा रहने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार ५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
