पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत बिहीबारको तेस्रो तथा रोमाञ्चक अन्तिम खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले पाँचौं सेटमा जित हासिल गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सम्पन्न विभागीय डर्बीमा आर्मीले एपीएफ क्लबलाई ३-२ को सेटमा हराएको हो ।
पहिलो सेट २५-१९ ले जितेको आर्मी पछिल्ला दुई सेट क्रमशः २२-२५ र २१-२५ ले गुमाउँदै खेलमा २-१ ले पछि परेको थियो । तर, त्यसपछि पुनः खेलमा फर्कदै आर्मीले चौथो सेट २५-१७ ले जित्यो र खेललाई निर्णायक पाँचौं सेटमा पुर्याउन सफल भयो ।
प्रतिस्पर्धात्मक पाँचौं सेट १८-१६ ले आफ्नो पक्षमा पार्दै आर्मीले खेल जित्यो । जितसँगै पाँच खेलबाट कुल ७ अंक जोडेको आर्मीले अब तेस्रो स्थानका लागि खेल्ने भएको छ । यता, पराजित एपीएफले पनि समान खेलमा समान ७ अंक नै जोड्यो । तर, खेलको सेट पोइन्टको आधारमा आर्मीसँग पछि पर्दै एपीएफ भने प्रतियोगिताबाट बाहिरीएको छ ।

यसअघि आजै भएको पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनलाई ३-० सोझो सेटमा हराएको थियो । पुलिसले खेल क्रमशः २५-११, २५-९ र २५-१५ को सेटमा आफ्नो पक्षमा पार्यो । यो जितसँगै पुलिसले फाइनल खेल्ने सम्भावना कायम राखेको छ ।
जितसँगै ५ खेलबाट १० अंक जोडेको पुलिसले अहिले तालिकाको शीर्ष स्थानमा छ । समान ४-४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन् । गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन् । त्यसपछि फाइनल खेल्ने टोलीको टुंगो लाग्ने छ ।
माघ १७ गतेसम्म सञ्चालन हुने यस च्याम्पियनसिपमा पुरुषतर्फ ६ तथा महिलातर्फ ५ टोलीको सहभागिता रहेको छ । आयोजकका अनुसार प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ विजेता टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ, उपविजेता टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६६६ रुपैयाँ तथा विधागततर्फ उत्कृष्ट खेलाडीलाई ११ हजार ६६६ रुपैयाँ प्रदान गरिने छ ।
