काठमाडौँ । नेपाल भलिबल संघको आयोजनामा जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत बुधबार पनि चार खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने दिनको पहिलो खेलमा महिलातर्फ समूह ‘बी’ को नेपाल पुलिस क्बले मधेस प्रदेशसँग बिहान १० बजे खेल्नेछ । पुलिसले आफ्नो समूहका सुरुआती दुवै खेलमा जित हात पारेको छ भने मधेसले दुवै खेल घुमाएको छ ।
दोस्रो खेलमा १२ बजे समूह ‘ए’ को एभरेष्ट भलिबल क्बलले युवा क्बलसँग खेल्ने । दुवै टोलीले आफ्नो समूहका दुवै खेलमा पराजय ब्यहोरेका छन् ।
दिउँसो २ बजेबाट सुरु हुने पुरुषतर्फको खेलमा बुढानिलकण्ठ भलिबल क्लबले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरसँग खेल्नेछ । यी दुवै टोली समूह ‘सी’को खेलमा रुकुम पश्चिमसँग पराजित भएका थिए ।
४ बजेबाट सुरु हुने दिनको अन्तिम खेलमा समूह ‘डी’ को कोशी प्रदेशले क्रीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरसँग खेल्नेछ ।
