विराटनगर । कोशी प्रदेशमा आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित पाँच करोड रुपैयाँको लगानीमा विकसित गरिएको विराट स्पोर्ट्स जोन यहि मंसिर २७गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।

३० कट्ठा क्षेत्रफलमा तयार गरिएको यो संरचना प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ दिशामा अघि बढाउनेगरी निर्माण गरिएको व्यवस्थापनले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

अध्यक्ष हरि बजगाई, सचिव नवराज काफ्ले, कोषाध्यक्ष राज ढकाल तथा सदस्य अम्बिका अधिकारी, धड्कन कट्टेल र रेखा उप्रेतीको नेतृत्वमा स्पोर्ट्स जोनलाई सुरक्षित, सुव्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विस्तार गर्ने काम अघि बढाइएको छ ।

विराट स्पोर्ट्स जोनको मुख्य आकर्षण अन्तर्राष्ट्रिय मापदण्ड अनुसार क्रिकेट एकेडेमी निर्माण, क्रिकेट खेलाडी सिद्धान्त लोहनीसहित अनुभवी प्रशिक्षकहरूले प्रशिक्षणहरु, बहु-पिच सुविधा, अत्याधुनिक उपकरण र व्यवस्थित तालिम संरचनासहित यो एकेडेमीले प्रदेशमा क्रिकेट प्रतिभा विकासलाई नयाँ उचाइमा पुऱ्याउने अपेक्षा गरिएको छ ।

स्पोर्ट्स जोनले पूर्वाञ्चलमै पहिलोपटक गो-कार्ट ट्र्याक सञ्चालनमा ल्याउँदैछ, जुन सबै उमेरका खेलकुद तथा रोमाञ्च-प्रेमीका लागि आकर्षक केन्द्र बन्ने अनुमान गरिएको छ । आधुनिक सुरक्षा मापदण्ड, व्यवस्थित ट्र्याक र सुरक्षात्मक उपकरणसहित यो सेवा प्रदेशकै नयाँ अनुभवको रूपमा प्रस्तुत गरिएको छ ।

फुटसल, क्रीकसल, स्केटिङ, ब्याडमिन्टन, पिकल बल र टेबल टेनिस यहाँको अन्य आकर्षण रहेका छन् । त्यस्तै फुटबल तथा तेक्वान्दो प्रशिक्षण कार्यक्रम पनि अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा सञ्चालन हुनेछन् ।

२५ भन्दा बढी कर्मचारी परिचालनसहित खेलप्रेमीलाई सहज सेवा उपलब्ध गराउने तयारी पूरा भएको व्यवस्थापनले जनाएको छ । खेलमैत्री र स्वास्थ्य अनुकूल वातावरण निर्माण गर्ने उद्देश्यले स्पोर्ट्स जोनभित्रसाकाहारि क्याफे समेत संचालनमा आउने भएको छ ।

आगामी चरणमा स्वीमिङ पुल, इन्डोर गेमिङ जोन र अन्य आधुनिक खेल संरचना थप गर्दै स्पोर्ट्स जोनलाई प्रदेशकै सबभन्दा ठूलो समग्र खेल केन्द्रका रूपमा विस्तार गर्ने योजनासमेत सार्वजनिक गरिएको छ। मंसिर २७ गते उक्त खेलकुद जोनको उद्घाटन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *