काठमाडौँ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आकस्मिक बैठक सम्पन्न भई समसामयिक राजनीतिक घटना र देशव्यापी आन्दोलनका सन्दर्भमा गहन छलफलपछि चार बुँदे महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथि हालै भएको हातपात र दुर्व्यवहारलाई असभ्य, अमानवीय र लोकतान्त्रिक संस्कृति विपरीतको घटना ठहर गर्दै घोर भर्त्सना गरेको छ । संघले उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।
त्यस्तै, जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । साथै आन्दोलनमा घाइते भएका युवाहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना व्यक्त गरेका छन् ।
आन्दोलनकै क्रममा देशभरि भएको धनजनको क्षतिको सत्यतथ्य छानबिन गरी वास्तविक दोषी पहिचान गरी कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्न जोडदार माग प्रस्तुत गरेको छ ।
यस्तै, नेपाली कांग्रेस पार्टीको निर्देशन अनुसार अशोज ३ गते संविधान दिवसका दिन केन्द्र देखि जिल्ला तहसम्मका सबै समितिहरूले विविध कार्यक्रमहरू आयोजना गर्न तथा सहभागिता जनाउन निर्देशन दिएका छन् ।
देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा बसेको बैठकले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा, संवैधानिक अभ्यासको निरन्तरता र खेलकुद मार्फत् समाजमा एकता, शान्ति र जागरण फैलाउने अटल प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।