पलेशा गोवर्धनले १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा कांस्य पदक जितेकी छन् ।
मलेसियाको कुचिङमा शुक्रबार सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा हार बेहोरेपछि उनले तेस्रो स्थानमा चित्त बुझाउँदै नेपालका लागि पदक सुनिश्चित गरिन् ।
गोवर्धनले क्वार्टरफाइनलमा उज्बेकिस्तानकी कामोला जुराबावामाथि पहिलो राउन्डमा १०-६ र दोस्रो राउन्डमा १३-० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।
तर, सेमिफाइनलमा चीनकी ली युजिएसँग ०-४ र २०-१० को स्कोरमा पराजित भइन् ।
योसँगै पलेशाको अन्तर्राष्ट्रिय पदक संख्या पाँच पुगेको छ। उनले यसअघि युथ एसियन गेम्स र एसियाली पारा ओलम्पिक छनोट प्रतियोगितामा दुई स्वर्ण जितेकी थिइन् भने टोकियो पारा ओलम्पिक २०२४, एसियन गेम्स २०२२ र एसियन प्रतियोगिता २०१८ मा तीन कांस्य जितेकी छन् ।
अन्य नेपाली खेलाडीहरूले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । भरतसिंह महताले काजाकिस्तानका गिब्रात्झान बाकबर्गविरुद्ध पहिलो राउन्डमा १२-० को सानदार जित निकाले पनि दोस्रो राउन्डमा ७-१० ले पराजित भए ।
अमिर ब्लोनले ताइवानका चेन चिएन च्याङसँग ६-८, ५-४, र ६-१० को प्रतिस्पर्धात्मक हार बेहोरे । कमला प्रसाई उज्बेकिस्तानकी इसोमिद्दिनोवासँग दुवै राउन्डमा ०-१२ र ०-१३ को हारका साथ प्रतियोगिताबाट बाहिरिइन् ।
रेनु तामाङले भने भारतकी लक्ष्मी राडारत्तीसँग पहिलो राउन्डमा १२-६ को जित निकालिन् । तर, बाँकी दुई राउन्ड १९-२३ र १२-२४ ले हारिन् ।
