दुहबी । मधेशा युवा क्लबले सुनसरीको दुहबीमा भएको सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बुधबार भएको फाइनल खेलमा आयोजक संयुक्त युवा क्लबलाई १-० गोलले पराजित गर्दै मधेशाले उपाधि जितेको हो ।

दुहबी-१० सिमरियास्थित श्री जनता माविको खेलमैदानमा भएको खेलमा मधेशालाई जित दिलाउन युबीन राईले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको २५औं मिनेटमा गोल गरेका थिए ।

फाइनल खेलको म्यान अफ दी म्याच मधेशाका मणी मगर घोषित भए । उनले नगद ११०० रुपैयाँ र ट्रफी प्राप्त गरे ।

उपाधि विजेता मधेशाले ३१ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता टोलीले २० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आयोजकका रेम्बो चौधरी, उत्कृष्ट डिफेन्डर आयोजककै शुशिल यादव, उत्कृष्ट मिडफिल्डर पनि आयोजककै विजय उराउ र उत्कृष्ट प्रशिक्षक मधेशाका सन्जु चौधरी घोषित भए । यसैगरी सर्वाधिक गोलकर्ताको अवार्ड निवास फुयाल र युबीन राईले प्राप्त गरे । विधागततर्फ उत्कृष्ट भएकालाई नगद जनही २१०० रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने मधेशाका कोमल खवास घोषित भए । उनले नगद २५०० रुपैयाँ प्राप्त गरे । प्रतियोगिताका विजेता खेलाडीलाई दुहबी नगरपालिकाका प्रमुख बेद नारायण गच्छदारले पुरस्कृत गरेका थिए ।

संयुक्त युवा क्लब, दुहबी–१०, सिमरियाको आयोजना तथा दुहबी नगरपालिका वडा नम्बर १० को कार्यालयको संयोजनमा असार २३ गतेदेखि शुरु भएको प्रतियोगितामा १० टिमको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *