विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि दिल्ली पब्लिक स्कुल विराटनगर र बाल आदर्श स्कुल इटहरी भिड्ने भएका छन् ।
विराटनगर–१ स्थित परोपकार खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा दिल्ली पब्लिक स्कुल विराटनगरले डनबस्को स्कुल विराटनगरलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराएर फाइनलमा प्रवेश गर्यो । खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो ।
निर्धारित समयको खेलमा प्रकाश कामतले गोल गर्दै डन बस्को स्कुललाई अग्रता दिलाएका थिए । तर, जेनिल बिष्टको गोलमा दिल्ली पब्लिक स्कुलले खेल बराबरीमा ल्यायो । खेलको म्यान अफ द म्याच दिल्ली पब्लिक स्कुलका इशान धिमाल चुनिए ।
त्यसैगरी आजै भएको दोस्रो सेमिफाइनलमा बाल आदर्श स्कुल इटहरीले साई चिल्ड्रेन होम इटहरीलाई १-० गोलले हराएर फाइनलमा स्थान पक्का गर्यो । बाल आदर्श स्कुललाई जित दिलाउन म्यान अफ दि म्याच प्रिन्स रामले निर्णायक गोल गरे ।
दिल्ली पब्लिक स्कुल र बाल आदर्श स्कुलबीच हुने फाइनल खेल भोलि बिहिवार हुनेछ । त्यसैगरी भोलि नै तेस्रो स्थानको लागि डन बस्को स्कुल र साही चिल्ड्रेन होम भिड्नेछन् ।
वडा नम्बर १ कार्यालय विराटनगर महानगरपालिकाको सह आयोजनामा तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्रायोजनमा चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड कप फुटबल प्रतियोगिता असार ८ गतेदेखि सुरु भएको हो ।
प्रतियोगितामा मोरङ र सुनसरी गरी कुल ३९ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्पोर्टी साइकल प्राप्त गर्नेछ ।
