काठमाडौं जिल्ला तेक्वान्दो संघले १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुने ५ खेलाडीसहित ७सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ ।

मलेसियाको कुचिङमा हुने प्रतियोगितामा पाँचै नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्ने छन् । टोली साउन १३ गते मलेसिया जाने छ ।

पाँचै खेलाडीले के-४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन्।

महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन तथा ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन् । चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट मलेसिया जाने छिन् ।

पारा तेक्वान्दोका सफल प्रशिक्षक कविराज नेगी लामाले यो प्रतियोगितामा पनि प्रशिक्षकको भूमिकामा छन् । व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ रहेका छन् । प्रशिक्षक लामाले वरीयता सुधार गर्न प्रतियोगता महत्वपूर्ण भएको बताए ।

नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउदै आएको छ । हालसम्म नेपालले १ रजत र ५ गरी ६ पदक जितेको प्रशिक्षक लामाले जनाएका छन् । रञ्जना धामीले रजत र कांस्य जितेकी छन् । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य प्राप्त गरेका छन् ।

टोलीलाई नेपाल च्याम्बर अफ कमर्सअन्तर्गत शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रुपक राजवंशी र उपाध्यक्ष सुनिता सिंह, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले ठमेलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

अध्यक्ष राजवंशीले टोलीलाई प्रोत्साहन स्वरुप ५० हजार नगद प्रदान गर्ने घोषणा गरे । सोही अवसरमा लायन्स क्लब अफ काठमाडौं तेक्वान्दो नेपाल र लायन्स क्लब अफ काठमाडौं मेरिगोल्डको पहलमा अमेरिकामा बस्दै आएकी पूर्व तेक्वान्दो खेलाडी सुमि परियारले उपलब्ध गराएको ट्रयाकसुट हस्तान्तरण गरिएको थियो । काठमाडौं जिल्ला तेक्वान्दो संघले पनि टोलीलाई टिसर्ट उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *