विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५औं राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ ।

आज विराटनगर स्थित शहिद रंगशालामा प्रदेशका ११ जिल्लाका खेलाडीहरुको सहभागितामा १५ औं राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले पूर्वाधारको विकासले मात्रै राष्ट्रको विकास नहुने भन्दै शिक्षा, खेलकुदलगायतको क्षेत्रमा समेत पर्याप्त लगानी भए चौतर्फी विकास हासिल गर्न सकिने बताए । उनले कोशी प्रदेश सरकारलाई आगामी बजेटमा खेलकुद क्षेत्रका लागि फराकिलो मन बनाएर रकम विनियोजन गर्न अनुरोध समेत गरे ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले प्रदेश सरकारको आगामी बजेट खेलक्षेत्र र खेलाडीलाई प्राथिमिकतामा राखेर निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे । मन्त्री राईले छोटो समयको सूचनाको आधारमा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा सरोकारवाला र खेलाडीहरुमा धन्यवाद ज्ञापन गरे ।

त्यस्तै, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति रनिङ शिल्डमा विजयी हुने खेलाडीको बोर्डले उचित सम्मान गर्ने बताए । उनले खेलाडीले सम्मान पूर्वक बच्ने अवस्थाको निर्माणको लागि बोर्डले कार्य गरिरहेको जानकारी समेत गराए ।

बस्नेतले प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागी नभएको सोलुखुम्बु, सुनसरी र खोटाङ‌लाई प्रतियोगितामा खेलाडीको सहभागी हुने अधिकार सुनश्चित गर्न असफल भएको भन्दै सो जिल्लाका जिल्ला खेलकुद विकास समितिलाई आवश्यक कारबाही हुने समेत बताए ।

छनोट प्रतियोगितामा ११ जिल्लाबाट भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु र एथलेटिक्स खेलमा झन्डै १ हजार खेलाडीको सहभागिता रहेको छ । छनोट प्रतियोगितामा विजयी खेलाडीहरूले जेठ २८ देखि ३० सम्म काठमाण्डौमा हुने १५ औं राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *