राष्ट्रिय बुद्धिचाल सङ्घ र हेटौंडा चेस क्लब द्वारा संयुक्त आयोजना गरिएको मदन स्मृति नेकोस यु-१५ विद्यालय स्तर राष्ट्रव्यापी चेस प्रतियोगिता शुरु भएको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार सम्पन्न ४ चरणको प्रतिस्पर्धामा डिएभि स्कुल धोबीघाट, नाइटिङ्गेल ईन्टरनेसनल स्कुल कुपण्डोल, ईन्टरनेसनल पब्लिक स्कुल महेन्द्रनगर, कञ्चनपुर र सूर्योदय बोर्डिङ स्कुल काठमाडौँ अगाडि रहन सफल बनेका छन् ।

राष्ट्रब्यापी बिद्यालय स्तर चेस खेलमा डिएभि स्कूलका १६१४ रेटेड हर्षवर्धन राठी, नाइटिङ्गेल स्कुलका अनरेटेड सुभनदीप थापा, इन्टरनेसनल स्कुलका १७३५ रेटेड सार्थक पन्त र सूर्योदय स्कुलका १६२५ रेटेड अग्रिम सैंजुले शतप्रतिसशत जित निकाल्दै संयुक्तरुपमा अग्रता लिएका छन् । 

दुईदिन चल्ने यस प्रतियोगितामा बानेश्वरका प्रज्ञाकुञ्ज स्कुल, बुढानीलकण्ठका इम्पेरियल वर्ल्ड स्कुल, कीर्तिपुरका पुष्प सदन बोर्डिङ स्कुल, बसुन्धरा नेशनल एकेडेमी र दथुलँ, ललितपुरका त्रियुगा लिटिल फ्लावर सेकेन्डरी स्कुल संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन् ।

प्रज्ञा कुञ्जका १६४७ रेटेड कसिभ कार्की, इम्पेरियलका अनरेटेड अग्रता आचार्य, पुष्प सदनका १५४६ रेटेड हार्दिक पन्त, वसुन्धराका १६९९ रेटेड अविन पाण्डे र त्रियुगका अनरेटेड हृदय बस्नेतले ३.५ अंक जोड्न सफल भएका छन् ।

स्पर्धामा १२० जना विद्यार्थीहरूको सहभागिता रहेको छ भने बाँकीका चार खेल भोलि शनिबार सम्पन्न हुनेछन् । सेमी क्लासिकल ३० मिनेट प्लस ३० सेकेन्ड इन्क्रिजमेन्ट, स्विस लिग प्रणालीको बुद्धिचाल खेलमा जोड दिइरहेको सभा अध्यक्ष धर्मबहादुर लामाले बताए ।

यसअघि प्रतियोगिताको उद्घाटन नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हिराकाजी महर्जनले गरेका थिए । कार्यक्रममा महासंघका कोषाध्यक्ष ताराबहादुर राणाभाट, सचिवालय सदस्य बालाराम पुन, प्रतिष्ठानका सचिव विष्णु पोखरेल, नेकोस मधेस प्रदेशका उपाध्यक्ष निशेष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *