नेपालले एसिसी मेन्स यु-१६ एलिट कपमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

मंगलबार मलेसियामा भएको खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूूरा गर्यो ।

नेपाललाई जित दिलाउन श्रीयान्स बजँगाईले ४२ बलमा ७ चौकाको मद्दतमा अविजित ३८ रन बनाए । प्रशिद्व जैशीले ३७ बलमा अविजित ३३ रन बनाए भने जोय थापा १ रनमा आउट भए ।

त्यसअघि कोजल टुन्कु जाफर ओभलमा टस जितेर ब्याटिङ राेजेकाे जापान ३४.३ ओभरमा ८० रन बनाएर अलआउट भएको थियो ।

जापानका लागि कप्तान चार्ली हाराहिन्जेले ३६ र गबी हाराहिन्जेले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि सुभम खनालले १० ओभर बलिङ गर्दै १५ रन दिएर सर्वाधिक ५ विकेट लिए । यसैगरी अभय यादवले २ तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले समान १ विकेट लिए ।

जितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ । जापानको दोस्रो खेलमा यो पहिलो हार हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।

प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् । समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन् । 

नेपालले तेस्रो खेलमा आइतवार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ । समूहको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपाल प्रतियोगिताको यसअघिका तीनै संस्करणको च्याम्पियन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *