नेपाल ओलम्पियन्स एसोसिएसनको चौथो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।

चितवनमा आइतबार भएको साधारण सभाबाट अध्यक्ष दीपक विष्टसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । विष्ट यसअघि पनि अध्यक्ष थिए ।

एसोसिएसनको दुई उपाध्यक्षमा प्रविण तुलाधर, देबु थापा महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा मनिता श्रेष्ठ प्रधान र कोषाध्यक्षमा सन्तोषी श्रेष्ठ चयन भएका छन् ।

सदस्यमा विष्णु वहादुर सिंह, मुकुन्द हरि श्रेष्ठ, टिकाराम श्रेष्ठ, भगवती केसी, विमला रानामगर, राजकुमारी पान्डे, फूलमाया क्याप्छाकी, प्रिन्स दाहाल र सफलराम श्रेष्ठ निर्वाचित भए ।

त्यसअघि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले साधारण सभाको उद्घाटन गरेका थिए । बन्द सत्रले महासचिव राजेन्द्र भण्डारीले पेश गरेको वार्षिक र आर्थिक प्रतिवेदनलाई सभाले पास गरेको थियो । सभाले स्कुल टु ओलम्पिकलाई निरन्तरता, ओलम्पियनको विवरणसहितको पुस्तक र हरेक ओलम्पिकपछि पुनर्मिलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

ओलम्पियन पुनर्मिलन

बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ ।

बागमतीका मुख्य मन्त्री बहादुर सिंह लामाले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

प्रदेश खेलकुद परिषद् बागमतीको आयोजना र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिकको समापनको अवसरमा शनिवार भएको चौथो ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम मुख्य मन्त्रीले भत्ता दिने बताएका हुन् ।

गण्डकी प्रदेशले दुई बर्षयता आफ्नो प्रदेशका ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । सुदूरपश्चिम प्रदेशले हालै आफ्ना प्रदेशका ओलम्पियनलाई भत्ता दिने घोषणा गरेको छ ।

सो अवसरमा सन् १९९२, १९९६ र २००० को ओलम्पिकमा भाग लिएका अनिता श्रेष्ठ, सिताराम शाही, विमला राना मगर, भगवती खत्री, ज्ञानबहादुर बोहोरालाई लाई सम्मान गरिएको थियो । १९९६ का ओलम्पियन स्वर्गीय सुनिललाल जोशीलाई मरणोपरान्त परिवारमार्फत सम्मान दिइएको थियो ।

मुख्य मन्त्री लामा, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद परिषद् बागमती सदस्य सचिव दीपक लामा, ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्टले सम्मान गरेका थिए ।

सोही अवसरमा अध्यक्ष विष्ट र कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले पेरिस ओलम्पिकमा भाग लिएका ७ मध्ये ३ जना एथलेटिक्सका सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिन्टनका प्रिन्स दाहाललाई ओएलवाईको पिन र प्रमाण पत्र प्रदान गरे ।

स्कुल टु ओलम्पिक कार्यक्रमको समापनको अवसरमा शनिवार बिहान चितवनमा वाकाथन भएको थियो ।

वाकाथनमा मुख्यमन्त्री लामा, खेलकुद मन्त्री महर्जन, रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा, ओलम्पियन, खेलाडी, विभिन्न खेलकुद संघ संस्थाका प्रतिनिधि, खेलकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।

सौराहाको हात्तीचोकबाट रिभर साइडसम्म वाकाथन भएको थियो ।

ओलम्पियन्स एसोसिएसनले चार वर्षअघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु गरेको थियो । शनिवार बिहान स्कुल टु ओलम्पिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *