बुढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रथम जुनियर राष्ट्रिय चेस च्याम्पियनसिपमा झापाका रिसोन थापाले सत प्रतिशत जित निकाल्दै प्रथम भएका छन् ।
रिसोनले ९ चरणको खेलमा पूर्ण ९ अङ्क प्राप्त गर्दै पहिलो पुरस्कार नगद रु ४० हजार हात पार्न सफल भएका छन् । उनले नगदसहित आकर्षक ट्रफी स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै श्रीलंकामा भएको एसियाली चेसमा रजक पदक प्राप्त गरेका सीएम पुरुषोत्तम सिलवालले ८ अङ्क जोडेर द्वितीय बन्दै नगद २५ हजार प्राप्त गरेका छन् । प्रतिस्पर्धामा समान ७ अङ्क प्रोग्रेसिभ प्वाइन्टका आधारमा प्रतिक सुवेदी तृतीय बन्दै नगद १० हजार प्राप्त गरे ।
रोमाञ्चक खेलतर्फ समान ७ अङ्क प्रोग्रेसिभ प्वाइन्टका आधारमा ललितपुरका अविक शाह चौथो स्थान मा रहँदै नगद ७ हजार ५०० प्राप्त गरेका छन् र काठमाडौँका अग्रिम सैजु पाँचौं स्थानमा प्रतियोगिता सम्पन्न गर्दै नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
यसैगरी जुनियर छात्रा तर्फ काठमाडौँ जिल्लाका रिया श्रेष्ठले ७ चरणको खेलमा पाँच जित र दुई बराबरी नतिजासँगै ६ अङ्कका साथ उपाधि जित्न सफल भएकी छिन् ।
छात्रा तर्फ अपराजित रहँदै उपाधि जित्ने क्रममा रिया श्रेष्ठले पहिलो पुरस्कार नगद रु. ४० हजार, ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र हात पारेकी छिन् ।
प्रतियोगितामा बाँकेकी ईशा गिरीले ५.५ अङ्क टाइब्रेक ३३ प्वाइन्ट जोडेर द्वितीय बन्न सफल भएकी छिन् । ईशाले नगद पुरस्कार रु.२५ हजार, सिल्भर मेडल प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
यस्तै दक्षिणकाली नगरपालिकाका एन्जल महर्जनले समान ५.५ अङ्क टाइब्रेक ३१ प्वाइन्ट बनाउँदै तृतीय बन्न सफल भएकी छिन् । उनले नगद पुरस्कार रु १० हजार ब्रोन्ज मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसै स्पर्धामा काठमाडौँका दानिसा पुरीले ५.५ अङ्क टाइब्रेक २७.५ प्वाइन्टमा सीमित रहँदै चौथो स्थान प्राप्त गरेका छन् । उनले नगद पुरस्कार रु ७,५०० हात पारेकी छिन् ।
काठमाडौँकै प्रिसियस अधिकारीले पाँच अङ्क जोडेर पाँचौं स्थानमा उभिँदै नगद पुरस्कार रु ५ हजार हात पारेकी छिन् ।
स्पर्धामा विधागततर्फ उत्कृष्ट छात्र यू ८ काठमाडौँका शुभाङ्ग प्रधान, यू १० आस्विक पोखरेल, यू १२ समृद्ध श्रेष्ठ, यू १४ ओस्कार पन्थी र यू १६ आद्यान्त काफ्ले र यू १८ युनिक गौतमले पुरस्कार ग्रहण गरे ।
उत्कृष्ट छात्रातर्फ यू १० अग्रता आचार्य, यू १२ निहाना श्रेष्ठ, यू १४ नेलिसा ओझा, यू १६ ओजस्वी श्रेष्ठ र यू १८ ग्लोसी श्रेष्ठ ले नगद पुरस्कार ग्रहण गरेका छन् ।
यसै बीच त्रिज्योति स्कुलमा भएको पुरस्कार वितरण कार्यक्रम संयोजक दीपक तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।
उक्त समापन समारोहमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् । कार्यक्रममा नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, प्रवक्ता राजु ताम्राकारको उपस्थिति रहेको थियो ।
