नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कूलको सह आयोजना रहेको २० औं अन्नपूर्ण दोश्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप शुक्रबार देखि सोमबार सम्म काठमाडौंमा हुने भएको छ ।

नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले विज्ञप्ति मार्फत जानकारी गराउदै चार समूहका ३६५ छात्र तथा १५१ छात्रा गरि जम्मा ५१६ जना विद्यार्थीको सहभागीता निश्चित भैसकेको बताएका छन् । 

ज्याठा स्थित अन्नपूर्ण स्कूलमा सञ्चालन हुने उक्त प्रतियोगिता अन्तर्गत यु – ९, यु – ११, यु – १३ र यु – १३ माथिका छात्र तथा छात्रा विद्यार्थी समूह बिच प्रतिस्पर्धा हुने जनाए । 

जसमा यु – ९ तर्फ छात्र ५२, छात्रा २४ जना विद्यार्थी र यु – ११ तर्फ छात्र २३, छात्रा ४० जना विद्यार्थी बिच २३ अनि २४ गते स्पर्धा चल्ने छ । 

यसैगरी यु – १३ तर्फ छात्र ११६ , छात्रा ४७ जना विद्यार्थी र यु – १३ माथिका छात्र १०६ , छात्रा ४० जना विद्यार्थी बिच २५ र २६ गते खेल सञ्चालन हुने भएको छ । 

प्रतियोगितामा प्रत्येक समूहका दस जना सहभागी विद्यार्थीले मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार समेत ब्यवस्था गरिएको छ । साथै मेडलको आधारमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई च्याम्पियन शिल्ड प्रदान गरिने छ ।

अन्नपूर्ण स्कुल खेल विभाग प्रमुख सुरेन्द्र महासेठका अनुसार विभिन्न ७५ विद्यालयका खेलाडीहरुले प्रतिस्पर्धा गरि उत्कृष्ट ठहरिएका विद्यालयलाई आगामी अगष्ट १५ देखि २५ तारिख सम्म मंगोलियामा आयोजना हुने १८ औं एशियन स्कुल चेस च्याम्पियनसिप प्रतियोगितामा नेपालको तर्फवाट सहभागी गराइने भएको छ । 

प्रतियोगिता संयोजक एवं काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष केशव श्रेष्ठले भोलि देखि सञ्चालन हुने चेस टालेण्ट हण्ड बृहत् राष्ट्रिय खेलको सम्पूर्ण तयारी भएको जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *