तेश्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

बिराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पुलिसले अघिल्लो दुई संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गर्न सफल भयो ।

जितको लागि २४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो ।

आर्मीको ब्याटिंगमा हिमांशु दत्ताले अर्धशतकीय योगदान दिए जुन क्रममा उनले ८० बलमा ६ चौका र २ छक्का प्रहार गरे। निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४ तथा नरेन साउदले २१ रन बनाए । बिशाल सुश्निंगले १८, कप्तान बिनोद भण्डारीले ७ रन बनाउन सके ।

राम्रो सुरुवात गरेको आर्मीले १३० रन बनाउदा मात्र १ विकेट गुमाएको थियो । सत्ताइसौं ओभरमा हिमांशु दत्तालाई बिपिन खत्रीले क्याच आउट गरेपछि पुलिस खेलमा फर्किएको थियो ।

दायाँ हाते मिडीयम पेसर श्रवन यादवले बिनोद भण्डारी, नरेन साउद, तुल बहादुर थापा र सुमित श्रेष्ठको विकेट लिंदै पुलिसलाई जित दिलाउन अहम भूमिका खेले । पुलिसको बलिंगतर्फ श्रवन यादवले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ६३ रन खर्चिए ।

चित्र बिस्टले २ विकेट लिंदा बिपिन खत्री र सुनिल दौल्यालले १/१ विकेट लिए । यस अघि टस हारेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रन बनाएको थियो ।

पुलिसको ब्याटिंगमा अरुण ऐरीले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ८९ बलमा १ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान शंकर रानाले ५१ रन बनाए जुन क्रममा ८१ बलमा १ चौका र ४ छक्का प्रहार गरे । दिपक डुम्रेले ३६, श्रवन यादवले ३२ तथा अविनाश कर्णले १९ रन बनाए ।

७७ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ विकेटको लागि अरुण ऐरी र शंकर रानाले ९६ रनको साझेदारी गरेका थिए । शंकरको विकेट पछि अरुण र श्रवन बीच छैठौं विकेटको लागि ४३ रनको साझेदारी भयो । आर्मीको बलिंगतर्फ दुर्गेश गुप्ता, नरेन साउद र तुल बहादुर थापाले समान २ विकेट लिए । बिशाल सुश्चिंग, पवन कार्की र सुमित श्रेष्ठले १/१ विकेट लिए ।

एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्न सफल पुलिसले ४ लाख नगदसहित ट्रफी हात पार्यो भने आर्मीले २ लाख रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताको उत्कृस्ट खेलाडी त्रिभुवन आर्मी क्लबका नरेन साउद घोषित भए जसले २५ हजार रुपैयाँ पाए ।

यस्तै उत्कृस्ट ब्याटर नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृस्ट बलर कोशी प्रदेशका प्रेम कामत घोषित भए । उत्कृस्ट बलर र ब्याटरले जनही रु. १५ हजार रुपैयाँ पाए । फाइनल खेलको प्लेयर अफ द म्याच श्रवन यादव घोषित भए जसले ४ हजार रुपैयाँ पाए ।

एक साता सम्म चलेको प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *