स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियन्सिपमा पदक जित्ने आफ्ना पाँच खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र सुमन खड्गी, महासचिव कुँवेरप्रकाश सिंह तथा राष्ट्रिय टेबलटेनिस टिमका प्रमुख प्रशिक्षक मोहनदास बासुकलाले स्ट्याग एकेडेमीका पदक विजेता खेलाडीलाई सम्मान गरे । सबै खेलाडीलाई जनही १० हजार रुपियाँ, मायाको चिनो र प्रमाण पत्रसहित सम्मान गरे ।
स्ट्याग च्याम्पियन्स लगातार नौ पटक राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठ र प्रशिक्षक राकेश महर्जनले खोलेको टेबलटेनिस एकेडेमी हो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा गत वैशाख ११ देखि १४ गतेसम्म भएको प्रतियोगतामा नेपालले एक स्वर्ण, ६ रजत र ५ कांस्यसहित १२ पदक जितेको थियो ।
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले यु-१९ उमेर समूहमा गनञ्जय दाहाल र प्रवेश बस्नेत तथा यु-१५ मा पदक जित्ने शुभश्री श्रेष्ठ, प्राज्जा महर्जन र सुरम्या शाक्यलाई सम्मान गरेको हो । दक्षिण एसियाली युथ टेबलटेनिसमा गनन्जयले यु-१९ ब्वाइज टिममा स्वर्ण, यु-१९ ब्वाइज डबल्समा रजत तथा यु-१९ ब्वाइज एकल र यु-१९ मिक्स डबल्समा काश्य पदक जितेका थिए ।
यसैगरी प्रवेशले यु-१९ ब्वाइज टिममा स्वर्ण र यु-१९ ब्वाइज डबल्समा रजत पदक हासिल गरेका थिए । शुभश्रीले यु-१५ गर्ल्स डबल्समा रजत र यु-१५ गल्स एकल र यु-१५ गल्स टिममा नेपाललाई काश्य पदक दिलाइन् ।
प्राज्जाले यु-१५ गल्स डबल्समा रजत र यु-१५ गल्स टिममा काश्य तथा सुरम्याले यु-१५ गर्ल्स टिममा काश्य पदक जिते। गनन्जयय र प्रवेश यु-१९ को ब्वाइज टिम इभेन्टमा पहिलो भएर उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका लागि छनोट पनि भएका छन् ।
