पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो ।
दोस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई पहिलो सेट २५-१७, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१५ को सोझो सेटमा पराजित गर्न सफल रह्यो । पुलिसले अब उपाधिका लागि इरानी टोलीसँग खेल्नेछ ।
यसअघि भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै इरानी टोलीले फाइनलमा स्थान बनाइसकेको छ । पहिलो सेट २०-२५ ले गुमाएको इरानी टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा जित निकाल्दै फाइनलमा पुगेको हो ।
इरानी टोलीले दोस्रो सेट २५-२०, तेस्रो सेट २८-२६ र चौथो सेट २६-२४ को पुनरागमन जित दर्ता गर्यो। चौथो सेटमा १८-२१ को अवस्थालाई उल्टाउँदै इरानी टोलीले २६-२४ को जित निकाल्न सफल रहेको थियो ।
तेस्रो स्थानका लागि र फाइनल खेल सोमबार हुनेछ । पुलिस र इरानी टोलीबिचको फाइनल खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ । यस्तै तेस्रो स्थानका लागि आर्मी र एपिएफबिचको खेल दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिनेछ ।
