आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित निकालेको छ ।
थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा आज भएको खेलमा बहराइनलाई ९ विकेटले हराउँदै नेपालले सानदार जित निकालेको हो ।
वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्याे ।
नेपालले यस जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । नेपालका लागि कविता कुँवरले १८ रन जोडिन् । यस्तै, सम्झना खड्काले १३, इन्दु वर्माले ७ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको बहराइनले एक विकेट गुमाएर ४१ रन बनाएको थियो । बहराइनका लागि दिपिका रसंगिकाले ३४ रन बनाइन् । नेपालका लागि पुजा महतोले एकमात्र विकेट लिएकी थिइन् ।
नेपाल र हङकङको पहिलो खेल वर्षाले रद्द भएको थियो । नेपालको ३ अंक पुग्दा हङकङको १ अंक छ । अब नेपालले मंगलबार हङकङ र विहीबार बहराइनसँग खेल्नेछ ।
समूहका २ टोलीले एक आपसमा २-२ खेल खेलेपछि शीर्ष टोली अर्को चरणमा पुग्ने प्रावधान छ । तीनै समूहको शीर्ष टोलीले सुपर थ्रीमा प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।
