आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले महत्त्वपूर्ण जित निकालेको छ ।
बिहीबार थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ६ विकेटले पराजित गरेको हो ।
वर्षाका कारण प्रभावित बनेको खेलमा नेपालले बहराइनद्वारा ८ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य नेपालले ५.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २४ र पूजा महतोले अविजित १३ रन जोडिन् । बहराइनका लागि पवित्रा सेट्टीले ३ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाउँदै ७६ रन बनाएर खेल्दै गर्दा वर्षाका कारण खेल रोकिएको थियो ।
जतिबलेला बहराइनका लागि जेनब फाज्ली चार र अबिरा वारिस एक रन बनाएर क्रिजमा थिए । यस्तै रसिका रोड्रिगोले २४, कप्तान दिपिका रसांगिकाले २३ र थरंगा गजनायके १२ रन बनाएर आउट भएका थिए ।
जितसँगै तीन खेलमा पाँच अंक जोडेको नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएकाे छ । पराजित बहराइन एक अंकका साथ पुछारमा छ ।
अब नेपालले सुपर-३ मा पुग्नका लागि शुक्रबार हुने हङकङले बहराइनबीचको खेल कुर्नु पर्नेछ । यो खेलमा बहराइन विजयी भए नेपालको अघिल्लो चरणको यात्रा तय हुनेछ ।
