“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाई व्यवहारमा उतार्ने लक्ष्यका साथ स्थापना भएको श्री समाज खेलकुद विकास क्लब (एसकेबिसी) तेक्वान्दो लगायत समग्र खेलकुद क्षेत्रको प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएको छ ।
विसं २०७८ सालमा स्थापना भएको क्लबले स्थापना कालदेखि नै विभिन्न स्तरका प्रतियोगिताहरू सफलता पूर्वक आयोजना गर्दै आएको छ ।
पहिलो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता, वाग्मती लिग, पाँचपटक इन्टर डोजाङ, उपत्यका तथा जिल्ला स्तरीय प्रतियोगिता र दुईपटक राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गरिसकेको क्लबले यसपटक पनि अर्को भव्य कार्यक्रमको तयारी गरिरहेको छ ।
क्लबले आगामी २०८२ साल जेठ ३ र ४ गते काठमाडौंको हेराल्ड इन्टरनेशनल कलेज, बसुन्धारामा “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता” आयोजना गर्न लागेको छ । प्रतियोगिताको मुख्य प्रायोजक टोखा नगरपालिका रहनेछ भने वाग्मती प्रदेश तेक्वान्दो संघ सह-आयोजक तथा प्राविधिक सहयोगीको रूपमा रहनेछ ।
प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाका ५ सयभन्दा बढी महिला तथा पुरुष खेलाडीहरूबीच ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने एसकेबिसीका प्रमुख प्रशिक्षक रन्जित डंगौराले जानकारी दिएका छन् । प्रतियोगिताको उद्देश्य स्वस्थ प्रतिस्पर्धा, अनुशासन, आत्मविश्वास, सामाजिक एकता र भाइचाराको प्रवर्द्धन रहेको उनले बताए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, ट्रफी, प्रमाणपत्र र खेलकुद सामग्री प्रदान गरिनेछ । त्यस्तै, विशेष योगदान पुऱ्याउने तथा उत्कृष्ट प्रदर्शन गर्ने महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र निर्णायकमध्ये ४ जनालाई ओप्पो मोबाइल प्रदान गरी सम्मान गरिनेछ ।
प्रतियोगिताको अनुमानित खर्च १५ लाख रुपैयाँ रहेको छ भने सो खर्च व्यवस्थापनका लागि विभिन्न संघसंस्था, निकाय र खेलप्रेमीहरूबाट सहयोगको अपेक्षा गरिएको छ ।
