भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा यस सिजन पहिलोपटक सुपर ओभरमा गएको खेलमा दिल्ली क्यापिटल्सले जित निकालेको छ ।

सुपर ओभरमा राजस्थानले दिएको १२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गर्यो । केएल राहुलले ७ र ट्रिस्टान स्टब्सले ६ रन बनाए ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउँदै ११ रन बनाएको थियो । रियान पराग र यशस्वी जैसवाल रनआउट भएका थिए । रियान फ्रि हिटमा रन आउट भएका थिए ।

त्यसअघि २० ओभरको खेलमा दिल्लीले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरा २० ओभरमा ४ विकेट गुमाएर १८८ रन बनाएपछि बराबरी हुँदै खेल सुपर ओभरमा गएको थियो ।

राजस्थानका यशस्वी जैसवाल र नितिश रानाले अर्धशतक बनाउँदै समान ५१ रन बनाएपनि निर्धारित ओभरमा जित भने दिलाउन सकेनन् । कप्तान सन्जु सामसनले ३१ रन बनाउँदा ध्रुव जुरेल २६ रनमा रनआउट भए ।

अन्तिम ओभरमा हितका लागि ९ रन आवश्यक हुँदा‌ मिचेल स्टार्कले शानदार योर्कर बलहरू प्रयोग गर्दै ८ रन मात्र दिए । अन्तिम बलमा २ रन चाहिँदा जुरेल रनआउट भएका थिए । मिचेल स्टार्क, अक्षर पटेल र कुलदीप यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८८ रन बनाएको थियो । अभिषेक पोरेलले सर्वाधिक ४९ रन बनाए भने केएल राहुलले ३८ तथा कप्तान अक्षर पटेल र ट्रिस्टन स्टब्सले समान ३४ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट तथा महीश थिक्साना र वानिन्दु हसरंगाले समान १ विकेट लिए ।

प्रतियोगितामा दिल्लीको यो पाँचौँ जित हो । जितसँगै ६ खेलबाट १० अंक जोडेको दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । तालिकाको आठौँ स्थानमा रहेको राजस्थानको भने यो पाँचौँ हार हो । ७ खेल खेल्दा राजस्थानले ४ अंकमात्र जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *