मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी र कोशी प्रदेशबीच भिडन्त हुने भएको छ ।

भोजपुर नगरपालिका-७, कोदार रङ्गशालामा जारी प्रतियोगिताको आज भएको सेमिफाइनल खेलबाट गण्डकी र कोशी प्रदेश फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३-० सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनल प्रवेश गरेको थियो । खेलको पहिलो, दोस्रो र तेस्रो सेट लगातार २५–२१, २५-१९ र २५-१५ अङ्कले गण्डकी प्रदेशले बागमतीलाई पराजित गरेको थियो ।

आजै भएको दोस्रो सेमिफाइल खेलमा सुदूरपश्चिम प्रदेशलाई ३-२ को सेटमा पराजित गर्दै कोशी प्रदेशले फाइनल यात्रा तय गरेको हो । कोशीले पहिलो, तेस्रो र पाँचौँ सेटमा २५-२१, ३०-२८ र १५-७ ले सुदूरपश्चिमलाई पराजित गरेको हो । दोस्रो र चौथो सेट भने २५-२२ र २५-२३ ले सुदूरपश्चिम प्रदेशले जितेको थियो ।

बिहीबार फाइनल खेल हुनेछ भने तेस्रो र चौथोका लागि बागमती र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ ।

प्रतियोगिताका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले रु २० लाख सहयोग गरेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये आठ स्थानीय तहले प्रतियोगिता सञ्चालन गर्न ९ लाख बढी सहयोग गरेका छन् । व्यक्ति तथा संघसंस्थालेसमेत सहयोग गरेको आयोजकले जनाएको छ । प्रतियोगितमा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम पाँच प्रदेशका खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः नगद रु तीन लाख, रु एक लाख ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी तेस्रो हुनेले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजारसहित मेडल र प्रमाणपत्र पाउने आयोजक जिल्ला भलिबल संघका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए ।

पाँच विधामा विधागत रुपमा उत्कृष्टलाई नगद रु १० हजारका साथमा भोजपुरे खुकुरी प्रदान गरिने र सर्वोत्कृष्ट खेलाडीलाई नगद रु २५ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *