डिफेन्डिङ च्याम्पियन गोर्खाली रग्बी क्लबले एक महत्वपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबलाई ३०-१० ले पराजित गर्दै फिफ्टिन्स रग्बी च्याम्पियनसिप २०२५ को उपाधि माथि दावेदारिता पेश गरेको छ ।
शनिवार नै भएको पहिलो खेलमा सशश्त्र प्रहरी बलको एपीएफले नेपाल पुलिस क्लबलाई एकपक्षिय खेलमा ७८-० ले पराजित गरेको थियो ।
राउन्ड रोविन लिगको यो नतिजा संगै गोर्खालीको ४ अंक बनेको छ भने एपीएफ र नेपाली सेनाको २÷२ अंक भएको छ । पुलिस भने अंक विहिन छ ।
अब प्रतियोगिताको लिग चरणको अन्तिम खेल आगामी मंगलवार हुनेछ । जहाँ गोर्खालीले नेपाल पुलिस संग तथा एपीएफ र त्रिभुवन आर्मी क्लब विच प्रतिस्पर्धा हुनेछ । यसको समग्र नतिजासंगै लिगमा शीर्ष रहने टोली च्याम्पियन हुनेछ ।
शनिवार गोर्खाली क्लबले शुरुआत देखि नै सेनामाथी दवाव बनाउन सफल भएको थियो । दुई पेनाल्टी मार्फत शुरुमा ६ अंक जोडेपछि सेना पछि पर्यो । जसको फाइदा उठाउँदै गोर्खालीले पहिलो हाफमा १८-३ को अग्रता बनायो ।
दोस्रो हाफमा स्कोर वढाउँदै गोर्खालीले ३० पुर्यायो भने सेना १० अंकमा रोकिएको थियो । गोर्खालीका तर्फबाट एक्लैले १५ अंक बनाएका विजय खड्का खेलको म्यान अफ द म्याच भए ।
जित पछि गोर्खालीका प्रशिक्षक कृष्ण थापाले भने, “एपीएफको खेलमा हामीलाई जति दवाव थियो आज खेलाडीहरुले त्यस्तो अवस्था आउन दिएन । यो जितले हामी उपाधिका लागि ढुक्क बनाएको छ ।”
एपीएफ र पुलिस बिचको खेलमा भने एपीएफ पूर्णतः हावी भएको थियो। टोलीले पहिलो हाफमै ४८ स्कोर गरिसकेको थियो । एपीएफले दोस्रो हाफमा स्कोर थप्ने काम भयो । एपीएफ कप्तान विराट श्रेष्ठ खेलको म्यान अफ द म्याच बने । अन्तिम दिनको खेल आगामी मंगलवार च्यासल मैदानमा हुनेछ ।
