आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा आज नेपालले हङकङको सामना गर्दैछ । नेपाल र हङकङबीचको खेल आज बिहान साढे ९ बजेदेखि काठमाडौंस्थित तल्लो मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।
जारी प्रतियोगितामा नेपाल अपराजित छ । नेपालले पहिलो म्याचमा यूएईलाई ५ रन तथा दोस्रो खेलमा ओमानलाई ८ विकेटले हरायो । नेपाल अब हङकङलाई हराउँदै जितमा ह्याट्रिक गर्न चाहन्छ ।
उता हङकङ भने पहिलो जितको खोजीमा छ । हङकङ पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो । हङकङको टिम बिहीबार नेपाललाई स्तब्ध बनाउँदै जितको खाता खोल्ने दाउमा छ ।
त्यस्तै आज अर्को खेल अफगानिस्तान र युएईबीच माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुदै छ । प्रतियोगितामा अफगानिस्तानले आफ्ना दुवै खेलमा जित हासिल गरेको छ भने युएईले पहिलो खेलमा हार बेहोरेको छ ।
एसिया छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ । यो एकदिवसीय फर्म्याटको विश्वकप हो ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ
