काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले आज हङकङविरुद्ध खेलिरहेको छ ।
काठमाडौंस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ ।
नेपाली टोलीमा एक परिवर्तन भएको छ । बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डलको स्थानमा बायाँ हाते स्पिनर विपिन प्रसाद शर्माले प्लेइङ-११ मा स्थान बनाएका छन् ।
नेपालको प्लेइङ-११:
निरज कुमार यादव, साहिल पटेल, नरेन भट्ट (कप्तान), रोशन विक, सन्तोष यादव, दिलसाद अली, अशोक धामी, अभिषेक तिवारी, अपराजित पौडेल, युवराज खत्री, विपिन शर्मा
जारी प्रतियोगितामा नेपाल अपराजित छ । नेपालले पहिलो खेलमा यूएईलाई ५ रन तथा दोस्रो खेलमा ओमानलाई ८ विकेटले हरायो । नेपाल अब हङकङलाई हराउँदै जितमा ह्याट्रिक गर्न चाहन्छ ।
उता हङकङ भने पहिलो जितको खोजीमा छ । हङकङ पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो । हङकङको टिम बिहीबार नेपाललाई स्तब्ध बनाउँदै जितको खाता खोल्ने दाउमा छ ।
त्यस्तै आज अर्को खेल अफगानिस्तान र युएईबीच माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुदै छ । प्रतियोगितामा अफगानिस्तानले आफ्ना दुवै खेलमा जित हासिल गरेको छ भने युएईले पहिलो खेलमा हार बेहोरेको छ ।
एसिया छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ । यो एकदिवसीय फर्म्याटको विश्वकप हो ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ ।
