विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगितामा पटनाको हाइपर क्रिकेट क्लब र विराटनगरको वाइआरसीसी क्रिकेट क्लब फाइनलमा पुगेका छन् ।

शनिबार पटना र विराटनगर उपाधि जितका लागि खेल्ने छन् । मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीले विराटनगरको जुट मिलको खेल मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनलमा खेलमा पटनाले विराटनगरको होराइजन क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित १६ ओभरको खेलमा ८ विकेटको क्षतिमा ११३ रन बनायो । जसमा मिनास थापाले ३७ रन, फिर्दोस अन्सारीले १७ रन र प्रेम कामतले १४ रनको योगदान गरेका थिए ।

बलिङमा पटनाका लागि रिसब राकेशले ३ विकेट, विक्की रन्जनले २ विकेट, नन्द किशोर र पुरुसोत्तम कुमारले समान १–१ विकेट लिएका थिए ।

पटनाले पाएको ११७ रनको पछ्याउने क्रममा १४ ओभर ४ बलमा ५ विकेट गुमाउँदै विजयी लक्ष्य पार गरेको थियो । जसमा विक्की रन्जनले ३४ रन, पुरुसोत्तम कुमारले ३२ रन र अनुज रन्जनले २७ रनको योगदान गरे ।

बलिङमा होराइजनका लागि फिर्दोस अन्सारीले ३ विकेट र दिपेश कँडेलले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच पटनाका विक्की रन्जनले नगर ३ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, आजै भएको दोस्रो सेमिफाइनल खेलमा विराटनगरको वाइआरसीसीले विराटनगरकै सिद्धार्थ क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै फाइनलमा पुगको छ ।

वाइआरसीसीले टस जितेर फिल्डिङ राजेर पहिलो ब्याटिङको अवसर सिद्धार्थलाई दिएको थियो । पहिले ब्याटिङ गरेको सिद्धार्थले १३ ओभर ४ बल खेल्दै अलआउट भएर ७७ रन मात्रै बनाउन सफल भयो । जसमा अविनाश कर्णले २० रन, नितेश यादवले १९ रन, नुमार अहमदले १३ रनको योगदान गरे ।

बलिङमा वाइआरसीसीका लागि राम नरेश गिरीले ६ विकेट लिए भने नरेन साउद र अमित श्रेष्ठले समान २–२ लिएका थिए ।

७८ रनको विजय लक्ष्य पाएको वाइआरसीसीले ७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै विजयी भयो । जसमा इमरान सेखले ३० रन, शंकर रानाले १८ रन र लोकेश बमले १४ रन बनाए ।

बलिङमा सिद्धार्थका लागि श्रवण यादव र दिवान पुनले समान २–२ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच वाइआरसीसीका राम नरेश गिरीले नगद ३ हजार रुपैयाँ पाए ।

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता श्रेष्ठका अनुसार विजेता टोलीले २ लाख १ हजार र उपविजेता टोलीले १ लाख १ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *