१४ वर्षीय ओपनिङ ब्याटर वैभव सूर्यवंशीको आक्रमक शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपिएल) २०२५ मा गुजरात टाइटन्समाथि ८ विकेटको शानदार जित हात पारेको छ ।
गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले १६ ओभरमा ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा वैभव सूर्यवंशीले ३८ बलमा ७ चौका र ११ छक्कासहित १०१ रन बनाए । उनी आईपिएलमा शतक हान्ने सबैभन्दा कान्छा खेलाडी बने । आईपिएलमा उनको यो पहिलो शतक हो ।
अर्का ओपनर यशस्वी जैसवालले नटआउट ७० रन बनाए । उनले ४० बलमा ९ चौका र २ छक्का प्रहार गरे । दुईबीच पहिलो विकेटको लागि १६६ रनको साझेदारी गरेका थिए ।
यस्तै नितिश रानाले ४ रन जोड्दा कप्तान रियान पराग ३२ रनमा नटआउट रहे । गुजरातका लागि प्रसिद्ध कृष्णा र राशिद खानले समान १ विकेट लिए ।
त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २०९ रनको योगफल तयार पारेको थियो ।
गुजरातका लागि ओपनर तथा कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५० बलमा ५ चौका र ४ छक्का प्रहार गरे । जस बटलरले २६ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा नटआउट ५० रन बनाए ।
अर्का ओपनर साई सुदर्शनले ३९ र वासिङ्टन सुन्दरले १३ रन बनाए । शुभमनले पहिलो विकेटका लागि साईसँग ९३ र दोस्रो विकेटका लागि बटलरसँग ७४ रनको साझेदारी गरेका थिए ।
राजस्थानका लागि महिश थिक्सानाले २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले समान १ विकेट लिए ।
यस जितपछि १० खेलमा ६ अंक भएको राजस्थान आठौं स्थानमा उक्लिएको छ । ९ खेलमा १२ अंक भएको गुजरात तेस्रो स्थानमा छ ।
यस नतिजाका बाबजुद राजस्थानको प्लेअफ अझै कठिन छ भने गुजरात अझै पनि बलियो अवस्थामा छ ।
