पोर्चुगलमा सम्पन्न २१औं विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीले अन्तरराष्ट्रिय पदक हात पार्दै नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् ।
पोर्चुगलको काल्दास दा रेन्हामा आइतबार सम्पन्न विश्व च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीले दुई रजत र पाँच कास्य पदकसहित नेपाललाई सात अन्तरराष्ट्रिय पदक दिलाएका हुन् ।
च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी केम्पो खेलाडी विपेश थापाले एक रजत र तीन कास्य पदकसहित चार पदक जित्न सफल भए ।
थापाले सेमी केम्पो फाइटिङ ७० केजी समूह, सेमी केम्पो सिनियर ५० केजी समूह, केम्पो-को ६० केजी तौल समूह, सबमिसन केम्पो ६० केजी तौल समूहअन्तर्गतको छुट्टाछुट्टै प्रतिस्पर्धामा विदेशी प्रतिस्पर्धीलाई पराजित गर्दै चार वटा पदक जितेका हुन् ।
पाँच डान श्रेणीका खेलाडी तथा प्रशिक्षक थापाले नेपालका लागि विश्व केम्पो च्याम्पियनसिपमा पहिलोपटक पदक जितेका हुन् । त्यसैगरी अर्का केम्पो खेलाडी अञ्जना शाहीले पनि एक रजत र दुई कास्य पदकसहित तीन पदक जित्न सफल भइन् ।
शाहीले सेमी केम्पो ५५ केजी समूह, फुल केम्पो सिनियर ६० केजी समूह, सेमी केम्पो सिनीयर ५० केजी समूहअन्तर्गत प्रतिस्पर्धामा विदेशी प्रतिस्पर्धीलाई पराजित गर्दै तीन वटा पदक जितेकी हुन् । शाहीले पनि नेपालका लागि विश्व केम्पो च्याम्पियनसिपमा पहिलोपटक पदक जितेका हुन् । थापा र शाही दुवै नेपाल केम्पो खुकुरी महासङ्घमा आबद्ध पाँचौँ डान श्रेणीका खेलाडी हुन् ।
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उक्त पदक जित्न सफल भएको नेपाल केम्पो खुकुरी महासङ्घका अध्यक्ष पाभेल शाहले राससलाई जानकारी दिए । ‘हाम्रा खेलाडीले विदेशी खेलाडीसँगको प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक जित्न सफल भए । विश्वमाझ नेपालको नाम चम्काउन र नेपाली झण्डा फहराउन सफल भए । यो राष्ट्रकै लागि ठूलो उपलब्धि हो’, शाहले भने ।
नेपाली केम्पो खेलको इतिहासमै यो अन्तर्राष्ट्रिय पदक पहिलो भएको अध्यक्ष शाहले बताए । उनका अनुसार उक्त प्रतियोगितामा थापा र शाहीसहित अन्य तीन खेलाडी गरी नेपालको तर्फबाट पाँच खेलाडीले च्याम्पियनसिपमा भाग लिएका थिए । यसअघि नेपालले सन् २०२४ मा पहिलोपटक विश्व क्याम्पो च्याम्पियनसिपमा भाग लिएको थियो ।
पहिलोपटक विश्व च्याम्पियनसिपमा सहभागिता जनाएको नेपालले पदक भने हात पारेको थिएन । प्रतियोगितामा सहभागी हुन नेपाल केम्पो खुकुरी महासङ्घका अध्यक्ष पाभेल शाह नेतृत्वमा नेपाली टोली पोर्चुगल आइपुगेको थियो ।
२२ अप्रिलदेखि सुरु भएको प्रतियोगितामा विश्वभरका एक सय आठ देशका खेलाडीको सहभागिता थियो । २१औं विश्व केम्पो च्याम्पियनसिपमा जित हासिल गरेसँगै विपेश थापा केम्पो च्याम्पियनसिपको अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । पाँचखाल-१०, काभ्रेपलाञ्चोकका थापा खेलाडी तथा प्रशिक्षक हुन् ।
त्यसैगरी सोही च्याम्पियनसिपमा जित हासिल गरेसँगै केम्पो खेलाडी अञ्जना शाही केम्पो च्याम्पियनसिपको अन्तरराष्ट्रिय पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । मण्डनदेउपुर-८, काभ्रेपलाञ्चोककी शाही पाँच खेलाडी तथा राष्ट्रिय प्रशिक्षकसमेत हुन् ।
