विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उक्त प्रतियोगिता हुन लागेको हो ।

विराटनगरको कञ्चजंघा पार्टी प्यालेसमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एमएम कप फाउन्डेसनले यसबारे जानकारी गराएको हो ।

आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले नेपाली क्रिकेटको विकास र स्तरोन्नतिका लागि नेपालमा कमै मात्रामा हुने ५० ओभरको प्रतियोगिता गर्न लागिएको बताए । यसअघिका दुई संस्करण सुनसरीको इनरुवामा गरिएको थियो । २०७५ सालमा भएको पहिलो संस्करणको उपाधि आर्मीले जित्दा दोस्रो संस्करणमा पनि आर्मीले नै बाजी मारेको थियो ।

अध्यक्ष घोषका अनुसार आइसिसीको नियमबमोजिम ५० ओभरको उक्त प्रतियोगिता तीन विभागीय टोलीसहित ६ टिमको सहभागिता रहने छ । नेपाल पुलिस क्लब, आर्मी क्लब र एपिएफसहित कोशी र बागमती प्रदेश तथा भारतको आसाम क्रिकेट टिमले प्रतियोगिता खेल्ने छन् ।

प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने दुवै टोलीका शीर्ष टोलीले फाइनल खेल खेल्ने छन् ।

१३ गते साविक विजेता टिम आर्मीले एपिएफको सामना गरेर प्रतियोगिताको थालनी हुने छ । प्रत्येक दिन एउटा खेल हुने सो प्रतियोगिताको फाइनल खेल २० गते हुने छ । प्रतियोगिताको विजेता टोलीले चार लाख रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले दुई लाख पाउने छ ।

साथै, प्लेयर अफ टुर्नामेन्टले २५ हजार, बेस्ट ब्याटर र बेस्ट बलरले १५-१५ हजार पाउने छन् भने प्रत्येक खेलका उत्कृष्ट खेलाडीले चार हजार रुपैयाँ पाउने छन् ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, क्रिकेट संघ नेपाल (क्यान), विराटनगर महानगरपालिकालगायत सहयोगीको भूमिकामा रहनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड रकम खर्च हुने आयोजकको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *