लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपिएल) मा रोमाञ्चक जित हात पारेको छ ।

शनिबार भएको खेलमा लखनउले राजस्थान रोयल्सलाई २ रनले पराजित गरेको हो । लखनउले दिएको १८१ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ५ विकेट गुमाएर १७८ रनमा रोकियो ।

राजस्थानका लागि ओपनर यशवी जैसवालले सर्वाधिक ७४ रन बनाए । उनले ५२ बलको सामना गर्दै ५ चौका र ४ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि १४ वर्षीय बैभव सूर्यवंशीसँग ८४ रनको साझेदारी गरे । बैभव ३४ रनमा आउट भए । कप्तान रियान परागले ३९ र सिमरोन हेटमायरले १२ रन बनाए । ।

लखनउका लागि आभेष खानले ३ विकेट तथा सार्दुल ठाकुर र एडन मार्कमले समान १ विकेट लिए ।

त्यसअघि जयपुरस्थित साई मानसिंह रंगशालामा टस जितेर ब्याटिङ रोजेको लखनउले निर्धारित २० ओभरमा ८  विकेट गुमाएर १८० रन बनाएको थियो ।

लखनउका लागि एडम माक्ररामले सर्वाधिक ६६ रन बनाए । उनले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यसैगरी आयुष बडोनी ५० रनमा आउट हुँदा अब्दुल समाद ३० रनमा अविजित रहे ।

राजस्थानका लागि वानिन्डु हसरंगाले २, जोफ्रा आर्चर, सन्दीप शर्मा, तुसार देशपाण्डेले समान १ विकेट लिए।

जितसँगै ८ खेलबाट १० अंक जोडेको लखनउ चौथो स्थानमा उक्लिएको छ । पराजित राजस्थान समान खेलबाट ६ अंकका साथ आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *