आइसिसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।
बुधबार काठमाडौंस्थित तल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो ।
हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर शाहिल पटेलले सर्वाधिक ४२ रन बनाए । उनले ४१ बलमा ८ चौका प्रहार गरे ।
यस्तै कप्तान नरेन भट्टले २३ बलमा ८ चौकाको मद्दतमा ३९ रन बनाए । ओपनर निरज कुमार यादवले १२ बलमा ४ चौका प्रहार गरि २३ रन बनाए । हङकङका लागि एक मात्र विकेट सायन पुरीले लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ ४६.२ ओभरमा ११५ रनमा अल आउट भएको थियो ।
हङकङका शिव माधुरले सर्वाधिक ६३ रन बनाए । उनले ११६ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यसैगरी आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन बनाए ।
नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । विपिनप्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।
जारी प्रतियोगितामा नेपाल अपराजित छ । यसअघि नेपालले पहिलो खेलमा यूएईलाई ५ रन तथा दोस्रो खेलमा ओमानलाई ८ विकेटले हराएको थियो । अब नेपालले लिगको अन्तिम खेलमा शनिबार अफगानिस्तानको सामना गर्नेछ ।
नेपालजस्तै अपराजित अफगानिस्तानले आज माथिल्लो मुलपानीमा यूएईसँग खेल्दै छ र पहिले ब्याटिङ गरेर ३५९ रनको विशाल योगफल खडा गरेको छ । आज अफगानिस्तानले यूएईलाई हराएमा नेपाल र अफगानिस्तानबीच शनिबार हुने खेल निर्णायक हुनेछ ।
प्रतियोगिताको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ ।
