बिभुषण कोइराला

के तपाईंलाई थाहा छ? नेपाली क्रिकेट टिमबाट हेलिकप्टर शटको सुरुवात गर्ने खेलाडी को हुन्?

प्रायः नेपाली क्रिकेट समर्थकहरूलाई हेलिकप्टर शटको सुरुवात गर्ने खेलाडी मञ्जित श्रेष्ठ हुन् भन्ने कुरा थाहा नहुन सक्छ। तर, नेपाली क्रिकेट टिमबाट पहिलो पटक हेलिकप्टर शट खेल्ने खेलाडी मञ्जित श्रेष्ठ नै हुन्। उनले भारतीय चर्चित खेलाडी महेन्द्र सिंह धोनीभन्दा पनि अगाडिदेखि हेलिकप्टर शट खेल्ने गर्थे।

विराटनगरका मञ्जित श्रेष्ठले नेपाली क्रिकेट टिमबाट १९९८ को अक्टोबरमा हङकङविरुद्ध डेब्यु गरेका थिए।

मञ्जित मात्र नभई उनका बुवा र दाइ युनिल श्रेष्ठ दुवै जना क्रिकेट खेलसँग जोडिएका थिए। उनका बुवा क्यानका उपाध्यक्ष समेत भइसकेका थिए भने दाइले पनि नेपालबाट खेल्ने अवसर पाएका थिए।

नेपाली क्रिकेट टिमलाई आजको यो स्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका मञ्जित यतिबेला नेपाल पुलिस क्लबका प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा नै नेपाल पुलिसले दुई संस्करणको प्रधानमन्त्री कप र जय ट्रफी जितेको थियो भने महिला पुलिस टिमले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गरेको थियो।

नेपाली घरेलु क्रिकेटमा सफल प्रशिक्षकका रूपमा स्थापित मञ्जितको क्रिकेट यात्रा कस्तो रह्यो? हामीले मञ्जितसँग गरेको कुराकानी जस्ताको तस्तै:

परिवार नै क्रिकेटमा भिज्दाको सहजीकरण र चुनौती:

मञ्जितको परिवारका सबै सदस्य क्रिकेटको वातावरणमा नै भिजेका थिए र क्रिकेटकै पूजा गर्थे। मञ्जितका बुवा क्यानका उपाध्यक्ष, दाजु राष्ट्रिय खेलाडी अनि काकाहरू क्रिकेटका पारखी थिए। मञ्जितको परिवार नै क्रिकेटमय थियो।

परिवार नै क्रिकेटमा भिजेको कारणले गर्दा मञ्जितलाई क्रिकेटको यात्रा सुरु गर्न त्यति कठिन भने भएन। उनको परिवारले नै उनलाई क्रिकेट खेल्न प्रोत्साहित गर्ने भएकाले उनलाई सहज भयो। परिवार नै क्रिकेटको बारेमा जानकार भएकाले पनि होला, मञ्जितलाई राम्रो प्रदर्शन गर्नुपर्ने चुनौती हुन्थ्यो। परिवारले मञ्जितबाट एक हदसम्मको अपेक्षा राख्ने गर्थे र त्यो अपेक्षा पूरा गर्न मञ्जितलाई केही हदसम्म चुनौती नै हुन्थ्यो।

खेलचौतारीसँगको कुराकानीमा मञ्जितले भने, “खास भन्ने हो भने मलाई सुरुमा क्रिकेट खेल्न कुनै इच्छा नै थिएन, मलाई फुटबल खेल्न मन लाग्थ्यो तर पछि बुवा, दाइ, काकाहरूको कारण मैले क्रिकेट खेल्न सुरु गरेँ।”

मञ्जितको क्रीकेट यात्रा:

नेपालीमा एउटा भनाइ छ नि, “यदि तपाईं हिराहरू संग हुनुहुन्छ भने तपाईं हिरा नै हुनुहुन्छ।” यो भनाइ मञ्जितको जीवनमा पनि लागू भएको छ।

सुरुवातमा मञ्जितलाई क्रिकेटप्रति खासै इच्छा थिएन। क्रिकेट बलभन्दा पनि मञ्जित फुटबल खेल्न रुचाउने गर्थे। तर मञ्जितको बुवाको इच्छा भने आफ्नो छोराले क्रिकेटमा केही गरोस् भन्ने थियो। मञ्जितका बुवा मञ्जितलाई क्रिकेटबाहेक अरु खेल नखेल्न भन्थे। जसको कारण मञ्जितले क्रिकेट खेल्न सुरु गरे र पछि यु-१९, यु-१७ हुँदै सीनियर टिमबाट खेल्ने मौका पाए।

डिभिजन ४ खेल्न इटाली जाने नेपाली टोलिमा मञ्जित श्रेष्ठ (तस्बिरको माथिल्लो भागबाट दायाँ बाट तेस्रो)

सन् १९९८ मा सुरु भएको मञ्जितको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सन् २०१३ मा टुंगिएको हो। २०१४ मा नेपालले इतिहासमै पहिलो पटक विश्वकप खेल्दा उनी इन्जुरीको कारण टिम बाहिर रहनु पर्यो। आफ्नो उत्कृष्ट लयमा रहेको बेला हातको मसल टियर भएको कारणले गर्दा मञ्जितले आफ्नो क्रिकेटलाई विश्वकपभन्दा अगाडि नै बिट मार्नु पर्यो। नेपालबाट डिभिजन गेमहरूमा महत्त्वपूर्ण योगदान दिँदै आएका मञ्जितले राष्ट्रिय टिमबाट भने छिट्टै टाढा हुनुपर्यो।

एसीसीबाट पुरस्कार लिदै मञ्जित श्रेष्ठ

उनले २०२३ मा कोशी प्रदेश ट्रफी खेल्दै आफ्नो घरेलु क्रिकेट यात्रामा पनि पूर्णविराम लगाए र पुलिसको प्रशिक्षकको रूपमा आफूलाई अगाडि बढाए।

केही ठूलो विकेट :

मञ्जित नेपाली क्रिकेट टिमको एक कुशल अलराउन्डर थिए। नेपाली क्रिकेट टिमलाई आफ्नो ब्याटिङ र बलिङ दुवैबाट योगदान दिँदै आएका मञ्जितले अन्डर १९ मा विश्वकै प्रसिद्ध ब्याटरहरूको विकेट लिएका छन्।

बलिङ क्रममा मञ्जित श्रेष्ठ

इंग्लिश क्रिकेटका उत्कृष्ट ब्याटर सर अलस्टेयर कुक, अष्ट्रेलिया टेस्ट टिमका पूर्व कप्तान टिम पेनलाई समेत पेभेलियनको बाटो देखाएका मञ्जित, अहिले ती विकेटहरू सम्झिँदा निकै आनन्दित हुन्छन्। पाकिस्तानी टेस्ट कप्तान अझर अलिको समेत विकेट लिएका मञ्जित आफ्नो विगत सम्झिँदा निकै हर्षित र खुसी देखिन्छन्।

“अहिले साथीभाइहरूले मेरो विगतको विकेट सम्झाउँछन् र त्यो सम्झिँदा मलाई निकै खुशी लाग्छ।”, मञ्जितले खेलचौतारीलाई भने।

मञ्जित अनि हेलिकप्टर शट:

तपाईंहरूलाई सुन्दा अचम्म लाग्न सक्छ, तर हेलिकप्टर शटको सुरुवात महेन्द्र सिंह धोनी भन्दा अगाडि नै मञ्जित श्रेष्ठले गरेका थिए। २००८ तिर नै मञ्जितले हेलिकप्टर शट खेल्ने गर्थे तर पछि धोनीले खेलेपछि मात्र त्यो शटलाई हेलिकप्टर शट भनेर भन्ने थाहा पाएको कुरा मञ्जितले बताए।

ब्याटिङ गर्दै मञ्जित श्रेष्ठ

“पहिला-पहिला मैले एउटा शट खेल्ने गर्थे, पछि धोनीले पनि त्यो शट खेलेपछि मैले खेलेको शट हेलिकप्टर रहेछ”, मञ्जितले भने।

नेपाली क्रिकेटमा हेलिकप्टर शटको सुरुवात गरेका मञ्जित आफ्नो हेलिकप्टर शट सम्झिँदा पनि खुसी देखिन्छन्।

मञ्जितको प्रशिक्षकको यात्रा :

मञ्जितको प्रशिक्षणमा नै नेपाल पुलिस क्लबले २०२४ र २०२५ को प्रधानमन्त्री कप उचाल्न सफल भयो भने, नेपालमा धेरै वर्षपछि फर्किएको रेडबल क्रिकेटमा पनि पुलिसले उनकै प्रशिक्षणमा प्रतियोगिता उचाल्यो।

उनी प्रधानमन्त्री कपमा एक खेलमा मात्र पराजित भएका छन, जुन प्रधानमन्त्री कपको एक नयाँ कृतिमान हो ।

प्रधानमन्त्री कप र जय ट्रफीको साथमा मन्जीत

त्यसैगरी नवौं राष्ट्रिय खेलकुदमा समेत उनले महिला पुलिस टिमको प्रशिक्षक भएर काम गरे र त्यहाँ गोल्ड मेडल जिताउन सफल भए। त्यस्तै नवौं राष्ट्रिय खेलकुदमै उनले पुलिसको पुरुष टिमको कप्तानी गरेका थिए र त्यहाँ समेत उनले गोल्ड मेडल जित्न सफल भएका थिए।

गुल्सनको उदय:

गुल्सन झा, नेपाली क्रिकेटको एक उदयमान र उत्कट अलराउन्डर हुन्। प्रधानमन्त्री कप २०२१ मा मधेश प्रदेशको टिममा छनोट हुन नसकेका गुल्सन झाले २०२१ मै काठमाडौं मेयर कप भने नेपाल पुलिस क्लबबाट खेल्न पाए जहाँ उनको खेलले विभिन्न नेपाली समर्थकको मन जित्न सफल भएको थियो। प्रधानमन्त्री कपमा आफ्नो प्रदेशबाट छनोट हुन असफल रहेका गुल्सनको बारेमा एकजना व्यक्तिले मञ्जितलाई एउटा राम्रो पेसर उनको नजरमा रहेको भनेर तारिफ गरे।

मञ्जितको नेतृत्वमा पहिलो खेल खेल्दै गुल्शन

पुलिस क्लबमा पेसरकै खोजी भएको कारणले पनि मञ्जितले गुल्सनको खेल हेर्ने भने र गुल्सनको खेलबाट प्रभावित भएर मञ्जितले गुल्सनलाई आफ्नो टिममा राख्न सफल भए। मञ्जित त्यो समय पुलिसको कप्तान थिए। आफ्नो कप्तानीमा गुल्सन जस्तो नव प्रतिभालाई उडान भराउन मञ्जित श्रेष्ठको निकै ठूलो योगदान रहेको छ। मञ्जितले गुल्सनलाई पुलिसमा लिएपनि उनी गुल्सनको सफलताको कारण भने गुल्सनको मेहनतलाई नै दिन्छन्।

मञ्जित भन्छन्, “गुल्सनलाई मैले भन्दा पनि उसको मेहनतले नै सफल बनाएको हो। मेहनतहरू सबै उ आफैले नै गरेको हो।”

नयाँ प्रशिक्षकप्रति उनको प्रतिक्रिया:

केही साता अघि मात्रै क्यानले स्टुअर्ट ल लाई नेपालको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गर्यो। अष्ट्रेलियन कोच ल नेपाल आउने खबरले मञ्जित निकै हर्षित छन्। उनको चाहाना पनि नेपाली क्रिकेटमा ल जस्तै प्रशिक्षक आओस् भन्ने थियो र ल आउँदा उनी निकै खुसी पनि देखिएका छन्।

“मलाई एशिया बाहिरको नै कोच भए हुन्थ्यो भन्ने लागेको थियो, र त्यही अनुसार ल लाई नै नियुक्त गरियो, म निकै खुसी छु।”, मञ्जितले भने।

कोशी प्रदेशको खस्किएको प्रदर्शनको कारण :

कोशी प्रदेश यतिबेला नेपाली क्रिकेटमा नै फ्री पोइन्टको रूपमा हेरिएको छ। निरन्तरको खस्किएको प्रदर्शनले गर्दा कोशी फ्री पोइन्ट भएर घरेलु प्रतियोगिता खेल्ने गर्छ।

हामीले मञ्जितलाई कोशीको प्रदर्शनको कारण सोध्दा उनले भने, “कोशीका खेलाडीहरू त निकै नै राम्रो छन्, तर टिम गेममा भने कोशीले त्यति मजाले खेल्न सकेको छैन। टिमको तयारी त्यति नपुगेर हो या अरु केही कारण हो, मैले कोशीमा टिम गेम देख्दिन।”

“यदि कोशीले प्रतियोगिता सुरु हुनु अघि महिना-दुई महिना अगाडि देखि नै तयारी गरेमा मात्र उनीहरूको टिम राम्रो हुने छ। १/२ वर्षसम्म सोचेको नतिजा नआउला तर यदि टिममा बसे एक न एक दिन पक्कै नतिजा आउँछ।” उनले भने।

युवा खेलाडीलाई सन्देश:

मञ्जित श्रेष्ठले युवा खेलाडीहरूलाई आफ्नो सपनामा सधैँ फोकस हुन र मेहनत गर्न सुझाव दिएका छन्। यदि सपना नेपालबाट खेल्ने छ भने धेरै नै मेहनत गर्नु पर्ने उनले बताए।

“यदि तपाईंलाई क्रिकेटमा नै केही गर्न चाहन्छु भन्ने छ भने एकदम फोकस हुनु पर्छ।”, मञ्जितले भने।

परिवारको साथ र समर्थनले गर्दा मन्जीत आज नेपाली क्रीकेटको एक उत्कृष्ट खेलाडीको रुपमा उभिन सफल भए ।। इन्जुरीले मन्जीतलाइ पीडा दिन खोजे पनि मन्जीत अटल भएर बसे जसको कारण उनले आज विभिन्न उपलब्धि हासिल गर्न सफल भएका छन्।

नेपाली क्रिकेटमा एउटा अविस्मरणीय योगदान दिएका मञ्जितले, छोटो समयमै आफूलाई सफल प्रशिक्षकको रूपमा चिनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *