काठमाडौं । राजधानीमा जारी मन्डिखाटार दोस्रो एमेच्योर टेनिस टुर्नामेन्टको ३५ वर्षमाथिको डबल्समा देव क्षेत्री र दीप जबराको जोडीले उपाधि जितेको छ ।

मन्डिखाटार टेनिस कोर्टमा शुक्रबार भएको फाइनल झिडन्तमा क्षेत्री र राणाको जोडीले भिष्म जंग गुरुङ र सिमान्त गुरुङको जोडीलाई सुपर टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो । ६-३, ४-६ पछि नतिजा १४-१२ ले निकालिएको थियो।

यसैगरी, ४५ वर्ष माथिको डबल्समा महेश श्रेष्ठ र डिगेन्द्र श्रेष्ठको जोडीले उपाधि जितेको छ । उनीहरुले धर्म लामिछाने र गोपी भट्टराईको जोडीलाई सुपर टाइब्रेकरमा पराजित गरेको हो । ६-३, २-६ पछि १०-७ ले बाजी मारेको थियो ।

४५ वर्ष माथिको सिंगल्समा सूर्य गिरी र देव क्षेत्रीबीच उपाधि भिडन्त हुने छ । सेमिफाइनलमा सूर्यले आशिष सिग्देललाई ६-१, ६-२ को स्कोरमा पराजित गरेका थिए भने देवले महेश श्रेष्ठलाई ६-२, ६-४ को स्कोरमा स्तब्ध गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

५५ वर्ष माथिको इभेन्टमा मनोज बिक्रम शाह र सन्जीव श्रेष्ठ तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले उपाधि भिडन्त गर्ने भएको छ।

सेमिफाइनलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले मनोज समशेर जबरा र डिगेन्द्र श्रेष्ठको जोडीलाई ६-३, ६-२ को स्कोरमा स्तब्ध बनायो । यसैगरी मनोज शाह र सन्जीव श्रेष्ठको जोडीले हिमाल शाह र शिव सेढाईको जोडीलाई ६-४, ४-६ पछि सुपर टाइब्रेकरमा १०-३ ले बाजी मारेको थियो ।

५५ वर्ष माथिको सिंगल्समा विमल वाइवा र मनोज बिक्रम शाहले उपाधि भिडन्त गर्ने छन् । विमलले उत्तम बोगटीलाई ६-१, ६-१ को सहज स्कोरमा राजित गर्दा मनोजले जीवन घिमिरेलाई ६-०, ६-४ को स्कोरमा स्तब्ध बनाए। यसैगरी, ६५ वर्ष माथिको डबल्समा कमल थापा र छाम्बा ढुन्डुपको जोडीले उपाधि जितेको छ । उनीहरुले मनोज शमसेर राणा र प्रकाश सिंह बोगटीको जोडीलाई ६-२, ६-३ को स्कोरमा पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार विहान ७ बजेदेखि बाँकी इभेन्टका फाइनल खेल हुने छ । विहान ७बजे ६५ वर्ष माथिको सिंगल्समा उपाधिका लागि कमल थापा र कर्मा घलेबीच प्रतिस्पर्धा हुने छ । यसैगरी, ५५ वर्ष माथिको सिंगल्समा मनोज शाह र विमल वाइवाको बीचमा प्रतिस्पर्धा हुँदा ४५ वर्ष माथिको सिंगल्समा सूर्य गिरी र देव क्षेत्री उपाधिका लागि आमने सामने हुने छन् ।

यसैगरी ३५ वर्ष माथिको सिंगल्समा सिमान्त गुरुङ र भिष्म जंग गुरुङबीच उपाधि भिडन्त हुने छ । यस्तै, ५५ वर्ष माथिको डबल्समा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले उपाधिका लागि मनोज शाह र सन्जीव कुमार श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *