गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो जित हासिल गरेको छ ।

आइतबार भएको खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । हैदराबादलाई लगातार चौथो हार थमाउने क्रममा गुजरातले १५३ रनको लक्ष्य १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । 

गुजरातका कप्तान शुभमन गिलले अविजित ६१ रनको पारी खेले भने वासिङटन सुन्दरले ४९ तथा शेरफन रदरफोर्डले अविजित ३५ रन बनाए । हैदराबादका लागि मोहम्मद शामीले २ तथा कप्तान प्याट कमिन्सले १ विकेट लिए ।

त्यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रनको योगफल तयार पारेको थियो ।

हैदराबादका लागि नितिशकुमार रेड्डीले ३१, हेनरिक क्लासनले २७, कप्तान प्याट कमिन्सले अविजित २२ अभिषेक शर्मा अनिकेत वर्माले समान १८ र इशान किशनले १७ रन बनाए ।

गुजरातका मोहम्मद सिराजले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिए । प्रशिद्ध कृष्ण र साई किशोरले समान २ विकेट लिए ।

जितसँगै ४ खेलमा ६ अंक जोडेको गुजरात अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने ५ खेलमा २ अंक मात्र जोडेको हैदराबाद १०औं स्थानमा यथावत् छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *