विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथों संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधिका लागि मोरङ र सप्तरी भिड्ने भएका छन् ।

लगातार दुई खेल जितेका मोरङ र सप्तरी एक खेल अगावै फाइनलको यात्रा तय गरेका हुन् । साविक विजेता मोरङले इलामलाई ९ विकेटले पराजित गरेको छ ।

लगातार दुई खेलमा जित हात पार्दै ४ अंक जोडेको मोरङ शिर्ष स्थानमा रहन्दै फाइनलको यात्रा तय गरेको हो । लगातार दुई खेलमा पराजित इलाम प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ६२ रनमा सिमित भयो । इलामका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् भने इलामले ४१ रन अतिरिक्त रन पाएको थियो । मोरङकी सानु राजवंशीले २ विकेट लिंदा चाँदनी साह, फुलकुमारी राजवंशी र बन्धना राजवंशीले २-२ विकेट लिइन् ।

६३ रनको झिनो लक्ष्य पछ्याएको मोरङले ५ दशमलव ५ बलमा १ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङको जितमा प्लेयर अफ द म्याच पूर्णीमा राजवंशीले अविजित ३२ रन बनाउँदा सानु राजवंशी १० रनको योगदान दिइन् । पूर्णीमाले २७ बलमा ६ चौका प्रहार गरिन् । इलामकी रचना लिम्बुले १ विकेट लिइन् ।

दोस्रो खेलमा सप्तरीले सिरहालाई ८ रनले पराजित गरेको छ । सप्तरीले खेलेको दुई खेलमा जित हात पार्दै दोस्रो स्थानमा यथावत रहँदै फाइनलमा प्रवेश गरेको छ । सिरहाले दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २ रनको सामान्य योगफल तयार पारेको थियो । सप्तरीकी प्लेयर अफ द म्याच साक्षी यादवले सर्वाधिक ५७ रन बनाइन् । उनले ५४ बलमा ६ चौका प्रहार गरिन् । सिरहाकी अनुराधा चौधरीले ४ विकेट लिँदा सरस्वती चौधरीले ३ विकेट लिएकी थिइन् ।

१ सय ३ रनको सामान्य लक्ष्य पछ्याएको सिरहाले पुरै ओभर खेल्दै ९ विकेट गुमाई ९४ रन बनाएको थियो । सिरहाकी सरस्वती मुखीयाले अविजित १३ रन बनाउँदा प्रसिद्‌का खडकाले अविजित ११ रन बनाइन् । सप्तरीकी अपेक्षा यादवले ४ विकेट लिँदा साक्षी यादव र सुस्मीता यादवले समान २-२ विकेट लिइन् ।

प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *