सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधिका लागि नेपाल नम्बर दुई गल्फर निरज तामाङ र धन बहादुर थापा उपाधिका लागि भिड्ने भएका छन् ।

उपाधिको लागि निरज र धनबीच भोलि ३६ होलको प्रतिस्पर्धा हुनेछ ।

रोयल नेपाल गल्फ क्लबमा आज भएको सेमिफाइनलमा वरियताको दोस्रो स्थानमा रहेका निरजले डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापतिलाई ३/२ ले हराउँदै फाइनलमा स्थान बनाए । यसअघि निरजले आज भएको क्वाटरफाइनल खेलमा रामे मगरलाई ३/२ ले हराएका थिए ।

दिनेशले भने क्वाटरफाइनलमा ११औं वरियताका अनुभवी तोरण विक्रम शाहीलाई १८औं होलमा माथ दिएका थिए । तर सेमिफाइनलमा निरजसँग हारपछि उनले तेस्रो स्थानको लागि खेल्नेछन् ।

दोस्रो सेमिफाइनल खेलमा आठौं वरियताका धन बहादुर थापाले चौथो वरियताका रवि खड्कालाई ३/२ को नतिजामा माथ दिए । धनले आजै भएको क्वाटरफाइनलमा अप्रत्याशित नतिजा निकाल्दै नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीलाई १९औं होलमा हराएका थिए ।

१८ होलसम्म खेल बराबरीमा सकिएपछि पहिलो एक्स्ट्रा होलमा धनले जित निकालेका हुन् । यसअघि क्वाटरफाइनलमा रविले भने प्रदीप कुमार लामालाई ३/२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए । रवि र भुवनले भोलि तेस्रो स्थानको लागि खेल्नेछन् ।

सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रहेको छ । उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछन ।

यसैगरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार हात पार्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *