कोलकातामा भारी वर्षा र आँधीबेहरीका कारण आईपीएल २०२५ को ४४ औं खेल रद्द भएको छ ।
शनिबार राति इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ रोजेको पञ्जाब किंग्सले २० ओभरमा चार विकेट गुमाउँदै २०१ रन बनाएको थियो । जवाफमा, कोलकाताको टोलीले केवल एक ओभर खेल्यो ।
रहमानुल्लाह गुरबाज एक र सुनील नारिन चार रनमा अविजित रहे । कोलकाताको टोलीले केवल सात रन मात्र बनाउन सक्यो। खेल वर्षाका कारण रोकियो र त्यसपछि रद्द गरियो । यसपछि दुवै टोलीलाई एक-एक अंक दिइएको थियो । यस आईपीएलमा पहिलो पटक वर्षाका कारण खेल रद्द भएको छ ।
यससँगै पञ्जाब किंग्स शीर्ष चारमा प्रवेश गरेको छ । नौ खेलमध्ये पाँच खेल जितेको पञ्जाब ११ अंक र ०.१७७को नेट रनरेटका साथ अंक तालिकाको चौथो स्थानमा पुगेको छ । अर्कोतर्फ, कोलकाता सात अंक र ०.२१२ को नेट रनरेटसहित सातौं स्थानमा छ ।
प्रभसिमरन सिंह र प्रियांश आर्यको शतकीय साझेदारीको आधारमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्स अगाडि २०२ रनको लक्ष्य राखेको थियो । प्रभसिमरन सिंहले सर्वाधिक ८३ रनको इनिङ खेले । प्रियांशले ६९ रन बनाए । कोलकाताका लागि वैभव अरोराले दुई विकेट लिए भने वरुण र रसेलले एक-एक विकेट लिए ।
पहिलो विकेटको लागि १२० रनको सबैभन्दा ठूलो साझेदारी प्रियांश र प्रभसिमरन बीचको थियो । १२ औं ओभरमा रसेलले प्रियांशलाई आफ्नो शिकार बनाए । सिजनको आफ्नो दोस्रो व्यक्तिगत ५०+ स्कोर बनाएपछि उनी आउट भए ।
यसपछि प्रभसिमरन सिंहले ३८ बलमा आफ्नो पाँचौं अर्धशतक पूरा गरे । उनको ८३ रनको इनिङ्समा छ चौका र त्यति नै छक्का समावेश थियो । यसबाहेक ग्लेन म्याक्सवेलले सात र मार्को जानसेनले तीन रन बनाए । यसैबीच, श्रेयस अय्यर २५ र जोश इङ्लिस ११ रनमा अविजित रहे ।
