आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानको बीचमा निर्णायक खेल हुँदै छ । खेल विहान साढे ९ बजेदेखि हुने तय छ तर वर्षाले प्रभावित हुन सक्ने देखिएको छ ।
मुलपानीलगायत काठमाडौंका अधिकांश स्थानमा शनिबार विहानैदेखि पानी परेको थियो । त्यसकारण मैदान भिजेकाले टस र खेल समयमा सुरु नहुने सम्भावना देखिएको हो ।
अहिले वर्षाको मात्रा केही कम भएको छ भने दिउँसो पनि वर्षाको सम्भावना छ । पहिलो दिनको खेलमा पनि भिजेको मैदानका कारण खेल ढिला सुरु भएको थियो ।
नेपाल र अफगानिस्तान दुवैले हालसम्म खेलेका ३ वटै खेल जितेका छन् । नेट रनरेटमा अफगानिस्तान अगाडि छ ।
आजको खेल सम्भव नभएमा दुवै टोलीले अंक बाँड्नेछन् भने समान अंक भएपनि नेटरनरेटमा अगाडि रहेको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ ।
नेपालले लगातार दोस्रो तथा समग्रमा नवौँपटक विश्वकपमा स्थान बनाउने लक्ष्य लिएको छ । उता अफगानी टिम पनि विगतको सफलता पछ्याउँदै फेरि विश्वकपको टिकट सुरक्षित गर्ने दाउमा छ । सन् २०२४ को यू–१९ विश्वकपमा नेपालसँग पराजित भएको अफगानिस्तान यसपटक छनोट चरण खेल्न बाध्य भएको हो ।
जारी प्रतियोगिताअघि भएको अफगानिस्तानसँगको तीन खेलको शृंखला नेपालले १–२ को हार बेहोरेको थियो । पहिलो खेल सहजै गुमाए पनि दोस्रो म्याचमा नेपालले कडा टक्कर दियो ।
तेस्रो खेलमा उत्कृष्ट बलिङ गर्दै नेपालले अफगानिस्तानविरुद्ध ८५ रनको सानदार जित निकाल्यो । त्यो लय कायम राख्दै नेपालले जारी विश्वकप छनोट प्रतियोगितामा लगातार तीन खेलमा जित दर्ता गरेको छ । र, नेपाल चौथो खेलमा पनि अफगानिस्तानलाई हराउँदै ऐतिहासिक सफलता हात पार्ने सोचमा छ ।
