नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको टि-२० वरीयता खस्किएको छ । आईसीसीले बिहीवार सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।
यसअघि १७औं स्थानमा रहेको नेपालको वरीयता एक स्थान खस्किँदै १८औं स्थानमा झरेको हो । नेपाललाई अमेरिकाले उछिनेको छ। यसअघि १८औं स्थानमा रहेको अमेरिका एक स्थान उक्लिँदै १७औं स्थानमा पुगेको हो ।
नयाँ वरीयतामा भारत अझै शीर्षमै कायम छ । अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो, वेष्ट इण्डिज चौथो तथा न्युजिल्याण्ड पाँचौं स्थानमा छन् ।
पाकिस्तानको वरीयता पनि एक स्थान खस्किँदै ७औं स्थानमा झरेको छ । एक स्थान सुधार गरेको दक्षिण अफ्रिका छैटौं स्थानमा उक्लिएको छ ।
नेपाली टोली १ स्थान तल झर्दै १८औँ स्थानमा खस्किएको हो । नेपाल आफूभन्दा तल्लो वरीयतामा रहेको कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो ।
त्यस्तै अलराउण्डर दीपेन्द्रसिंह ऐरी पनि आइसिसी टी-२०आई अलराउण्डर वरीयतामा दोस्रोबाट तेस्रोमा झरेका छन् । उनी अब तेस्रोमा इंग्ल्याण्डका लियाम लिभिङस्टोनसँग समान २०९ रेटिङका साथ छन् ।
दीपेन्द्र खस्किँदा अस्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रोमा उक्लिएका छन् भने भारतका हार्दिक पाण्ड्या शीर्षमा यथावत् छन् । दीपेन्द्रको रेटिङ २३३ बाट २०९ मा झरेको हो । शीर्षका पाणड्याको २५२ तथा दोस्रोका स्टोइनिसको २१० रेटिङ छ ।
