विराटनगर । विराटनगरको वाइआरसिसि क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो-नेपाल टि-२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ ।

बुधबार विराटनगरको जुट मिल खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वाइआरसिसिले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

सिराहाले दिएको १४१ रनको लक्ष्य वाइआरसिसिले मात्र १३ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो ।

वाइआरसिसिको उत्कृष्ट जितमा अमित श्रेष्ठको विस्फोटक ब्याटिङ महत्वपूर्ण रह्यो । उनले २५ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ४६ रन बनाएर प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ३ हजार प्राप्त गरे ।

अमित यादवले पनि उत्कृष्ट प्रदर्शन गर्दै अविजित २९ बलमा २ छक्का र ३ चौकासहित ३७ रन बनाए । ओपनर अमिर शेखले ७ बलमा तीव्र गतिले २१ रन जोडे । दिलिप नथले अविजित ७ बलमा १६ रन र शुभकंसाकारले १० बलमा १२ रन बनाए ।

सिराहाका कुस मन्डल र आनन्द कमाईतले टिमका लागि २-२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको सिराहाले १९.३ ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो । सिराहाका लागि शैलेन्द्र साहले सर्वाधिक १७ बलमा २७ रन बनाए । चन्दन यादवले १२ बलमा १६ रन, राकेश कामतले १५ रन र फतेन सिद्दिकीले अविजित १२ बलमा १४ रनको योगदान दिए ।

वाइआरसिसिका बलरतर्फ विधान गोस्वामीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । राम नरेश गिरीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए र नरेन साउदले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

वाइआरसिसिको यो जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार हुने पहिलो सेमिफाइनलमा विराटनगरको होराइजन र हाइपर क्रिकेट क्लब पटनाबीच प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार वाइआरसिसिले सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) विरुद्ध दोस्रो सेमिफाइनल खेल्नेछ ।

प्रतियोगिताको विजेता टिमले २ लाख १ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख १ हजार नगद पुरस्कार हात पार्ने मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीकी सचिव शान्ता श्रेष्ठले दिएकी छिन् । चैत ३० गतेसम्म संचालन हुने यस प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *