विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ ।
डिफेन्डिङ च्याम्पियन आर्मीले समुह ‘ए’ अन्तर्गतको खेलमा सोमबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो ।
दुवै खेलमा जित दर्ता गर्ने क्रममा आर्मीले अघिल्लो खेलमा एपीएफलाई पराजित गरेको थियो । दुवै खेलमा हारपछि बागमती तथा एक जित र एक हार बेहोरेको एपिएफ समुह चरणबाट बाहिर भयो ।
बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ९७ रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले १७. ३ ओभरमा ५ विकेट गुमाएर भेटायो ।
लक्ष्य पछ्याउने क्रममा आर्मीको लागि निश्चल क्षेत्रीले सर्वाधिक ४६ रन बनाए जुन क्रममा उनले ५५ बलमा ८ चौका प्रहार गरे । हिमांशु दत्ताले १८ रन बनाए । बागमतीको बलिंगमा दयानन्द मण्डलले २ विकेट, तिलक राज भण्डारी र आदील खानले १-१ विकेट लिए ।
बागमतीको ब्याटिंगमा सचिन लेखकले सर्वाधिक ३४ रन योगदान दिए । लेखकले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरे । प्रतिक श्रेष्ठले १५ तथा आदील खानले १० रन बनाए ।
आर्मीको बलिंगमा देब्रे हाते स्पिनर नरेन साउदले सर्वाधिक ५ विकेट लिए । लगातार दोश्रो खेलमा प्लेयर अफ द म्याच घोषित भएका साउदले ६ ओभरमा १ मेडन ओभर गर्दै १९ रन खर्चिए । दुर्गेश गुप्ताले २ विकेट लिंदा तुल बहादुर थापा, सुमित श्रेष्ठ र बिशाल सुश्लिंगले १/१ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार समुह ‘बि’ अन्तर्गतको खेलहरु सुरु हुनेछन् । मंगलबारको खेलमा कोशी प्रदेशले विभागीय टोलि नेपाल पुलिस क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समुहमा बिभाजन गरिएको छ । समुह ‘ए’ मा शशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन्। समुह ‘बि’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन् ।
प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।
