मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ ।

चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो । जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट भए । पहिलो विकेट गुमाउँदा ११ रन मात्र बनेपनि पहिलो पावर प्लेमा चेन्नईले ६२ रन बनायो ।

यो क्रममा विष्फोटक ब्याटिङ गरेका रुतुराजले २२ बलमा ६ चौका र ३ छक्का सहित अर्धशतक प्रहार गरे । रुतुराज र रचिनले दोस्रो विकेटको लागि ६७ रनको साझेदारी गरे ।

रुतुराज ५३ रनमा आउट भए । भिगनेश पुथुरले रुतुराजलाई विल ज्याक्सद्वारा क्याच आउट गराए । लगतै शिवम दुबे ९ रनमा र दीपक होडा ३ रनमा भिगनेशकै बलमा आउट भए ।

साम कुरान पनि ४ रनमा आउट भए । योसँगै चेन्नइ दबाबमा आयो । तर इनिङसको सुरुवात देखि क्रिजमा टिकेका रचिनले सुझबुझपूर्ण पारी खेल्दै चेन्नईलाई जित दिलाए ।

उनले ४२औं बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । यसपछि १९औं ओभरको पहिलो बलमा अर्को छक्का प्रहार गर्दै चेन्नइको जितलाई सहज बनाए । रचिनले ४४ बल खेल्दै २ चौका र ३ छक्का सहित अविजित ५९ रनको योगदान दिए ।

बलिङमा भिगनेश पुथुरले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। त्यसअघि टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो ।

मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै मात्र ५२ रन जोड्यो । खालिद अहमदले सुरूवाती २ विकेट लिए ।

भारतीय क्रिकेट टोलीका कप्तान ओपनर रोहित शर्मा डक आउट भए । यसपछि १३ रन बनाएका रायन रिकल्टनलाई पनि खालिदले बोल्ड आउट गरे ।

विल ज्याक्स ११ रन जोडेर रविचन्द्र आश्विनको बलमा शिवम दुबेद्वारा क्याच आउट हुन पुगे । ३६ रन जोड्दा ३ विकेट गुमाएको मुम्बईले दबाबमा पर्यो। ठुलो साझेदारी बन्न सकेन ।

नुर यादवको उत्कृष्ट बलिङमा मुम्बईले खुलेर ब्याटिङ गर्न सकेन् । उनले यसपछि चार खेलाडीलाई आउट गरे। कार्यवहाक कप्तान सूर्य कुमार यादव २६ बलमा २९ रन जोड्दै नुर अहमदको बलमा आउट भए । यसपछि १३औं ओभरमा नुरले नै थप २ विकेट लिए ।

रविन मिन्ज ३ रनमा पबिलियन फर्किए । ३१ रन बनाएका तिलक वर्मा नुरकै बलमा एलबिडब्लु धरापमा परे । उनले २५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । उनी नै मुम्बईको लागि सर्वाधिक रन बटुल्ने खेलाडी बने । ९६ रन जोड्दा मुम्बईले ६ विकेट गुमायो ।

सातौं विकेटको रूपमा नमन धीर १७ रन जोडेर नुरको बलमा बोल्ड आउट हुन पुगे । नवौं क्रमका ब्याटर दीपक चाहरले १५ बल खेल्दै २ चौका २ २ छक्का प्रहार गर्दै अविजित २८ रन बनाए ।

बलिङमा नुर अहमदले ४ ओभर बलिङ गर्दै मात्र १८ रन दिएर ४ विकेट लिए । मुम्बईलाई रनमा रोक्न उनको कसिलो बलिङ तारिफयोग्य रह्यो । यस्तै खालिद मोहम्मदले ३ विकेट लिए ।

यो जितमा चेन्नइले २ अंक जोडेको छ । मुम्बइले भने हारबाट लिगको सुरूवात गर्यो ।

आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *