प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न दुई खेलमा बागमती प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् ।

सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको हो । जितका लागि बागमतीले दिएको २८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा अलआउट हुँदै २१९ रनमा समेटियो ।

गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक ५५, समीर कँडेलले २६, अमृत गुरुङले २० तथा दीपक डुम्रे र कमल परियारले समान १९ रन जोडे ।

बागमतीका लागि इशान पाण्डेले ४, साकार गजुरेलले २ तथा रिजन ढकाल, सूर्य तामाङ र रिजन ढकालले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८८ रन बनाएको थियो ।

बागमतीका लागि इशानले सर्वाधिक ६९, विपिन आचार्यले अविजित ६३, शुभ कंसाकारले ५२, विवेक मगरले ३४ र रिजन ढकालले अविजित २३ जोडेका थिए ।

गण्डकीका लागि अर्जुन कुमालले ४ तथा विपिन खत्री र सुवास भण्डारीले समान २ विकेट लिएका थिए । बागमतीको जारी प्रतियोगितामा यो दोश्रो जित हो ।

जितसँगै ५ खेलबाट ४ अंक जोडेको बागमती छैठौं स्थानमा उक्लिएको छ । पराजित गण्डकी समान खेलमा २ अंकसहित साथ आठौं स्थानमा रहेको छ ।

यस्तै भैरहवाको एक्ट्राटेक ओभलमा भएको मंगलबारको अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशविरुद्ध १२७ रनको फराकिलो अन्तरको जित हासिल गरेको छ ।

जितका लागि कर्णालीले दिएको २१९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा अलआउट हुँदै ९१ रनमा समेटियो ।

कोशीका लागि चिराग साहले २५, शकिब हकले १३ र कप्तान अंकित सुवेदीले १० रन जोडे । कर्णालीका लागि सुनिल धमला र दीपेन्द्र रावतले समान ३, कप्तान दिवान पुनले २ तथा अनुज चनाराले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले अविजित ८८, हिमान्शु शाहीले ४६, निश्चल रावलले २०, प्रकाश जैसीले १८, सुनिल धमलाले १३ र विपिन रावलले १० रन जोडेका थिए ।

कोशीका लागि विपिन महतोले ३, दिपेश कँडेल र प्रकाश कार्कीले समान २ तथा श्रवण किस्कु र सुजन थपलियाले १-१ विकेट लिएका थिए ।

जितसँगै पाँच खेलबाट ४ अंक जोडेको कर्णाली पाँचौं स्थानमा उक्लिएको छ । पराजित कोशी ६ खेलमा २ अंकसहित तालिकाको पुछारमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *