विराटनगर । विराटनगरमा जारी प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडमी विजयी भएका छन् ।
विराटनगर-१९ स्थित गिरिजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा मोरङले उदयपुर जिल्लालाई ५० रन र आयोजकले सुनसरीलाई ६ विकेटले हराउँदै विजयी भएको हो । जितसँगै मोरङ र आयोजकले समान २ अंक जोडेका छन् ।
दोस्रो दिनको पहिलो खेलमा मोरङले दिएको १२० रनको विजय लक्ष्य पछ्याएको उदयपुरले १९ दशमलप ३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन मात्रै बनाउन सक्यो ।
उदयपुरका पर्वत राईले १९ बलमा १५ रन, नवराज सिग्देलले ९ बलमा ११ रन बनाए भने निराजन तिवारीले २१ बलमा १० रनको योगदान दिए । उदयपुरका अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन ।
मोरङका मिनाश थापाले कसिलो बलिङ गर्दै ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिए । उनी खेलको प्लयेर अफ म्याच घोषित भएर नगद २ हजार पाँच सय रुपैयाँ पाए । त्यस्तै अमर यादवले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेकोे मोरङले १९.६ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनको लक्ष्य दिएको थियो ।
मोरङका दिपक पासवानले सर्वाधिक रन बनाए । उनले २७ बलमा ४ चौका प्रहार गरे । सन्तोष चौधरीले २१ बलमा १८ रनको योगदान दिए । अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन ।
उदयपुरका तेज आचार्य र नवराज सिग्देलले समान ३ विकेट लिए । तेजले ४ ओभरमा १८ रन खर्चिए भने नवराजले ३ ओभरमा ३३ रन खर्चिए ।

सोही दिन भएको दोस्रो खेलमा सुनसरीले दिएको ११८ रनको लक्ष्य निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा आयोजकले पूरा गर्यो ।
आयोजकको जितमा निरु मुखियाले सर्वाधिक रन बनाए । उनले २९ बलमा ३६ रन बनाए । निरुले १ छक्का १ चौका प्रहार गरे । मुकुन्द यादवले अविजित २५ बलमा २५ रन पारी खेल्दा जशक खड्काले अविजित २३ बलमा १५ रनको योगदान दिए ।
सुनसरीका बलर हार्दिक, गौरव कटुवाल, सिरयान यादवले समान १ विकेट लिए ।
यसअघि सुनसरीले १९.६ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनमा सिमित भएको थियो । जसमा सोनु मण्डलले ३६ बलमा ३४ रन र रितेस रोयले २० बलमा २८ रन बनाए । सुनसरीका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन ।
आयोजकका अलराउन्डर खेलाडी जोशक खड्काको कसिलो बलिङ सामु सुनसरीका खेलाडी क्रिजमा टिक्न सकेनन । उनले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए । आयोजकका जोशक खड्का प्यलेर अफ द म्याच घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ पाए ।
त्यसैगरी विधान गोस्वामीले ३ ओभरमा ४१ रन खर्चर ३ विकेट लिए । प्रशान्त साह र कृष्णले समान १ विकेट लिए ।
बिहीबारको पहिलो खेल मोरङ र इलामबीच हुने छ भने सोही दिन हुने दोस्रो खेल सुनसरी र झापा जिल्लाबीच हुनेछ ।
मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा भएको प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता जोशीले जानकारी दिइन् ।
